सिभिटन क्लव अफ रामपुर द्वारा रामपुरका ५ विद्यालयमा अक्षयकोष स्थापना

पाल्पा, सिभिटन इन्टरनेश्नल अन्तर्गत सिभिटन क्लव अफ रामपुर पाल्पाले नगर भित्रका ५ वटा विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । क्लवले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको प्रोत्साहनका लागि ११÷११ हजार राशीको अक्षयकोष स्थापना गरेको हो ।

सिभिटन क्लव अफ रामपुरले स्थापना संगै सीताराम माध्यमिक विद्यालय रामपुर ४ सदावर्त, नव दुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुर, रामपुर आधारभूत विद्यालय रामपुर ५ काञ्जीहाउस, बालकल्याण प्राथमिक विद्यालय रामपुर ५ सानीअमराई र कालिका माध्यमिक विद्यालय रामपुर ४ देविस्थानमा अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषको रकम प्याराडाईज क्याफेको सभाहल  बेझाँडमा एक कार्यक्रम गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुलाई प्रदान गरिएको थियो ।

सिभिटन क्लव अफ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, इलेक्टेड प्रेसिडेण्ट हरिप्रसाद अधिकारी, कोषध्यक्ष मन बहादुर नेपालीले क्लवका पदाधिकारीहरुको उपस्थितिमा रकम हस्तान्तरण गर्नु भएको थियो । रकम प्रदान गर्दै क्लवका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले सिभिटन इन्टरनेश्नलको बारेमा जानकारी दिदै शिक्षा क्षेत्रको उत्थानको लागि उत्प्रेरित गर्न पहिलो चरणमा अक्षयकोष स्थापना गरिएको बताउनुभयो । उहाँले अहिले अक्षयकोष स्थापना भएका विद्यालयमा मुल राशीमा रकम थप गर्ने र अन्य बाँकी विद्यालयहरुमा पनि विस्तार गरिने योजना रहेको बताउनुभयो । ढकालले अक्षयकोष मार्फत जेहेन्दार र गरिब १/१ जना छात्रछात्रालाई प्रत्येक वर्ष वार्षिक उत्सवमा छात्रवृति प्रदान गरिने जानकारी दिनुभयो ।

कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम बहादुर सेनले क्लव प्रति आभार प्रकट गर्दै सिमित स्रोतका विच सञ्चालन भएका विद्यालयहरुको आधार सामाजिक संघ संस्था, अक्षयकोष तथा दाताहरु नै रहेको बताउनुभयो । रामपुर आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विष्णु गौतमले पहिलो कार्यक्रममा विद्यालयहरुलाई समावेश गरेकोमा खुशी व्यक्त गर्दै विद्यालयहरुको शैक्षिक वातावरण निर्माण र शिक्षा क्षेत्रको उत्थानको लागि सबैको सहकार्य खाँचो रहेको बताउनुभयो ।

सिभिटन क्लव अफ रामपुरका द्वितिय उपाध्यक्ष प्रेम प्रकाश ढकालले विद्यालयहरुमा कोभिड नियन्त्रणका लागि स्वास्थ्य सामाग्री प्रदान गर्ने योजना रहे पनि पछिल्लो समय विभिन्न संघ संस्थाहरुले सामाग्री प्रदान गरिरहेको र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने अवस्था पनि नभएकाले केही रकम थप गरेर अक्षयकोष स्थापना गरिएको बताउनुभयो । सिभिटन क्लव अफ रामपुरका कोषाध्यक्ष मन बहादुर नेपालीले निम्न वर्गिय परिवारका विद्यार्थीहरुलाई छात्रवृतिले ठूलो राहत मिल्ने भएकाले पहिलो कार्यक्रम गरिएको बताउनुभयो ।

सिभिटन क्लव अफ रामपुरका सदस्य लक्ष्मण भट्टराईले जहाँ शिक्षाको विकास भएको छ सोही मुलुक अगाडी रहेको बताउँदै शिक्षा र स्वास्थ्यमा सबैको ध्यान जानु आवश्यक रहेको बताउनुभयो । पत्रकार इमान सिं रानाले अक्षयकोषलाई दिगो र समय सापेक्ष अघि बढाउन आग्रह गर्दै क्लवको प्रगतिको कामना गर्नु भएको थियो । क्लवका इलेक्टेड प्रेसिडेण्ट हरिप्रसाद अधिकारीले स्वागत संगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्र प्रसाद भट्टराईले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?