विज्ञान पढ्न चाहाने विद्यार्थीहरुको रोजाईमा रामतुलसी

दानु हिस्की मगर

पाल्पा, ‘एसएलसी उत्तिर्ण भए संगै कक्षा ११/१२ मा विज्ञान संकाय अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि राजधानी वा अन्य शहर पुग्नु पर्ने । अन्यथा उपलब्ध विषय अध्ययन गर्नु पर्ने ।’ १३ वर्ष अघि प्रवेशिका परीक्षा उत्तिर्ण भए संगै पाल्पाको पूर्वी भेग तथा गण्डकी बेशी क्षेत्रका विद्यार्थीहरुको यी र यस्तै बाध्यता थियो ।

आफ्नो उज्वल भविष्य निर्माणका लागि विज्ञान विषय लिई अध्ययन गर्न इच्छुक विद्यार्थीहरु कि त अन्यत्र जानु पथ्र्यो । अन्यथा इच्छालाई कुण्ठित पार्नु बाहेक अर्को विकल्प थिएन । तर २०६५ देखि रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाले कक्षा ११/१२ का लागि विज्ञान संकायमा पढाई सञ्चालन गरे संगै सो बाध्यता हट्दै आएको छ । सुरुवातमा १२/१३ जना विद्यार्थीहरु सहित विज्ञान संकाय सञ्चालन गरेको रामतुलसी मावि पछिल्लो समयमा विज्ञान संकायका लागि रोजाईको विद्यालय बन्न थालेको छ ।

नमुना विद्यालयको रुपमा स्थापित रामतुलसीमा विद्यार्थीहरुको चाप पाल्पामा सबै भन्दा धेरै रहेको छ नै, विज्ञान संकायमा पनि उत्तिकै आकर्षण बढेको देखिन्छ । कक्षा ११/१२ का विज्ञान संकायका संयोजक भरत घिमिरेले सुरुवातमा १२/१३ जना भर्ना भएर अध्ययन गर्दै आएकोमा पछिल्लो समय विज्ञान संकायमा संख्या क्रमश बढ्दै गएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘सुरुका वर्षहरुमा १२/१३ जना जना हुँदै १७/१८ जना सम्म भर्ना भएका थिए । पछिल्लो समय शैक्षिक सत्र २०७२/०७३ यता क्रमश बढ्दो क्रममा रहेको छ । केही समय अघि सञ्चालन भएको कक्षा ११ को परीक्षामा विज्ञान संकाय बाट ३८ जनाले परीक्षा दिएका थिए ।’ घिमिरेले यस वर्ष विज्ञान संकाय अध्ययनको लागि आउने विद्यार्थीहरुको संख्या अझै बढ्ने सम्भावना रहेको बताउनुभयो ।

कक्षा ११/१२ मा विज्ञान संकाय अध्ययनका लागि हाल पाल्पा संगै स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका विद्यार्थीहरु पनि आउने गरेका छन् । विज्ञान संकायको अध्ययन सकिए संगै अन्य प्राविधिक धारका विविध विद्याको अध्ययन गर्न पाउने हुनाले पनि विज्ञान संकाय तर्फ विद्यार्थीहरुको आकर्षण बढेकाे रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयको पूर्वाधार व्यवस्थापन, शिक्षकहरुको स्थायित्व एवं शिक्षक, विद्यार्थीहरुको लगाव कै कारण विज्ञान संकायमा विश्वास बढ्दै गएको छ ।’– ‘विज्ञान विषय पढ्ने भने पछि स्थानीय विद्यार्थीहरु पनि शहर बजार जान्थे । बुझ्नेहरुले पनि विज्ञान विषय पनि रामपुरमा पढेर हुन्छ भनेर होच्याउँथे । विस्तारै उचित व्यवस्थापन संगै शैक्षिक वातावरण तयार हुँदै गएको छ । विद्यार्थीहरुले पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । अहिले विज्ञान विषय लिएर पढ्ने विद्यार्थीहरु ११/१२ यहीँ पढौँ भनेर आउने गरेका छन् ’ विगतका दिन स्मरण गर्दै लम्सालले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘सुरुमा शिक्षकहरु आउने जाने क्रम थियो । अहिले विद्यालय मै अध्यापन गर्ने स्थायी शिक्षकहरु भएकाले शिक्षको समस्या छैन । सुविधा सम्पन्न विज्ञान प्रयोशालाको पनि व्यवस्था रहेको छ । साथै स्तरिय प्रयोशाला पनि निर्माणको क्रममा रहेको छ । विज्ञान संकायका लागि बजारका विद्यालयहरुमा रहेका स्रोत र साधन रामतुलसीले पनि व्यवस्थापन गरेको छ ।’ विद्यालयले विज्ञान संकायको लागि सबै वर्गका विद्यार्थीहरुको पहुँचमा रहने गरी न्यून शुल्कमा अध्यापन गर्दै आएको जनाएको छ । साथै प्रयोशाला प्रयोगमा शुल्क निःशुल्क रहेको जनाएको छ । विज्ञान संकायको कक्षा अन्यत्र स्थानको भन्दा कम नरहेको विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । विज्ञान लिएर पढ्छु भन्ने ढृद संकल्प भएका विद्यार्थीहरु आर्थिक अवस्थाको कारण कोही पनि बञ्चित हुनु नपर्ने लम्सालले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले विद्यालयले व्यवस्थित प्रयोगशाला सञ्चालन गर्दै आएकोमा अहिले पुन स्टिम प्रोजेक्ट मार्फत पनि प्रयोगशाला तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुभवी दक्ष शिक्षकको व्यवस्थापन संगै उचित शैक्षिक वातावरण निर्माणमा व्यवस्थापन समिति पनि लागि परेको छ । विद्यालयको पठनपाठन संगै स्तरिय शिक्षाका लागि कुनै पनि स्रोत र साधनको अभाव हुन दिने छैनौं ।’ उहाँले कोभिडको समयमा विद्यार्थीहरुको लागि अनलाईन बाटै पठन पाठनको व्यवस्था गरिएको बताउनुभयो । रामतुलसी माध्यमिक विद्यालयमा हाल मन्टेश्वरी कक्षा सञ्चालन संगै अंग्रेजी तथा नेपाली माध्यममा कक्षा १ देखि १० सम्म पठनपाठन हुँदै आएको छ । साथै ३ वर्षे कृषिबाली विज्ञान, कक्षा ११ र १२ मा शिक्षा, मानविकी तथा व्यवस्थापन संकायमा पनि पढाई हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?