रामपुर नगरपालिका ६ नं. वडामा सरोकारवालाको भेला सम्पन्न, योजना कार्यान्वयनको बारेमा छलफल

पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ मा सरोकारवालाहरुको भेला सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिका बाट वडामा सञ्चालन हुने योजना कार्यान्वयनका विषयमा छलफलका लागि वडा भेला भएको हो ।

नगर तथा वडाका जनप्रतिनिधि, राजनैतिक दल, टोल संयोजक, समाजसेवी एवं वडाबासीको उपस्थिति रहेको भेलामा गत वर्ष सञ्चालन भएका योजनाहरुको समिक्षा संगै चालु आर्थिक वर्षका योजनाका विषयमा छलफल भएको थियो । भेलालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समृद्ध वडा तथा नगर निर्माण गर्ने दायित्व हामी सबैको भएकाले विकासमा सहकार्य गर्दै बढ्न आग्रह गर्नु भयो । उहाँले बजेटको सहि कार्यान्वयनमा जोड दिनु आवश्यक रहेको बताउँदै विकास निर्माणका कार्यमा स्थानीयको सहयोग अपरिहार्य रहेको बताउनुभयो । नगरको पहिचानको रुपमा रहेको तालपोखरा संगै निर्माणाधिन ज्याग्दी वृहत पार्क जस्ता योजनाहरु सञ्चालन हुनुले पनि वडा नं. ६ नगरको प्राथमिकतामा रहेको जानकारी गराउनुभयो ।

रामपुर नगरपालिकाको समानुपातिक विकासको लागि नगरपालिकाले एउटा वडामा मात्र केन्द्रित नभै १० वटै वडामा बजेट समान रुपमा वितरण गरेको बताउनुभयो । नगरका युवाहरुलाई उद्याशिल हुन आग्रह गर्दै आफै रोजगारी सृजना गर्न सक्ने वातावरण नगरपालिकाले प्रदान गरेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुर ६ का वडा सभापति कृष्ण प्रसाद अर्यालले विकास निर्माण सबैलाई समेटेर वडा अघि बढेको बताउनुभयो । उहाँले शत प्रतिशत योजना कार्यान्वयन संगै दिगोपनका लागि सबैको सहयोगको आवश्यक हुने बताउनुभयो । नेकपा एमाले रामपुर ६ का अध्यक्ष सागर प्रसाद देवकोटाले वडामा सञ्चालन हुने योजना तथा विकास निर्माणका कार्य सहकार्य बाटै सञ्चालन भएको बताउँदै विकासका लागि सबैले पहल गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रतिनिधि जनकराज ढकाल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि राम प्रसाद गैरे, नेपाल महिला संघ क्षेत्र नं. १ का सभापति विष्णु माया ढकाल र नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले वडाको विकास निर्माणमा दिगोपन कायम गर्न तथा समयमा योजना सम्पन्न गर्नको लागि सबैको साझा चिन्तन हुनु आवश्यक रहेको बताउनुभयो । साथै वक्ताहरुले वडाले विकास निर्माण संगै योजना निर्माणमा सरोकारावालाहरु संग गर्ने सहकार्य आफैमा प्रसंशनिय रहेको बताएका थिए । कार्यक्रममा रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडामा हाल सम्म सम्पन्न भएको योजनाहरुको बारेमा संक्षिप्तमा जानकारी गराउँदै यस वर्ष नगर बाट पारित भएको योजनाहरुको बारेमा प्रकाश पार्नु भएको थियो । साथै वडा अध्यक्ष न्यौपानेले समय मै योजना सम्पन्न गर्नका लागि सहयोग गर्न अपिल गर्नु भयो ।

त्यस्तै रामपुर नगरपालिकाका प्राविधिक शंकर कंडेलले विकास निर्माणका योजना कार्यान्वयन गर्ने प्रक्रिया, अपनाउनु पर्ने उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो । रामपुर भजनकृतन मण्डलीको सभाहलमा भएको भेला वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षता र वडा सचिव बासुदेव ढकालको सहजिकरणमा भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?