रामपुर ६ मा खगुपति घिमिरेको एकल साहित्यिक प्रस्तुती

पाल्पा, धाराप्रवाह सहित्यिक रचना सृजना संगै वाचन सक्षम कवि खगुपति घिमिरेको एकल साहित्यिक प्रस्तुती कार्यक्रम रामपुर ६ मा सम्पन्न भएको छ । चापाकोट नगरपालिका ८ निबासी घिमिरेको रचनालाई प्रोत्साहन गर्दै प्रचारप्रसारमा सहयोग गर्ने उद्देश्यका साथ रामपुर साहित्यक प्रतिष्ठानको आयोजना एकल साहित्यिक प्रस्तुती भएको हो ।

वडा नं. ६ को पर्यटकिय स्थल बाघको ढाँड नजिकै निर्माण भएको प्रतिक्षालयमा साहित्यिक रचना वाचन कार्यक्रम भएको हो । एकल साहित्यिक प्रस्तुति कार्यक्रममा कवि घिमिरेले आफ्ना कविता, गित लगाएतका रचना प्रस्तुत गर्नु भएको थियो । उहाँले कोरोनाले पारेको प्रभावलाई जोडेर तयार पार्नु भएको तिज भाका, मौलिक भाका सहितका तिजभाका, कालीगण्डकीको महत्व, बैदेशिक रोजगारले पारेको असरलाई समावेश गरी तयार पार्नु भएको गित तथा कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिका ६ का वडा सदस्य थिरलाल ढकालले समाज रुपान्तरणको लागि साहित्यिक क्षेत्रको विकास हुनु आवश्यक रहेको बताउँदै वडाले पनि सकेको सहयोग गर्दै आएको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला सदस्य दुर्गेश मल्लले साहित्य समाजको ऐना भएको बताउँदै सिमित स्रोतका प्रतिष्ठानले चालेको कदम प्रशंसनिय रहेको बताउनुभयो । रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष बासुदेव ढकालले कवि घिमिरेको प्रतिभालाई थप उजागर गर्नुका साथै उहाँको सम्मानको लागि कार्यक्रम गरिएको बताउनुभयो ।

६४ वर्षिय कवि घिमिरे लेख्न जान्दैनन् तर गित, कविता तथा दोहोरीका टुक्का क्षणभर मै रचना गरी धारा प्रवाह प्रस्तुत गर्न दख्खल राख्नुहुन्छ । उहाँको साहित्यक कृति पनि प्रकाशन भैसकेको छ । रामपुर सहित्यिक प्रतिष्ठानका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष हुमा देवकोटाको स्वागत र सचिव गोविन्द प्रसाद भट्टराईको सञ्चालनमा भएको हो । प्रतिष्ठानले साहित्यको उत्थानका लागि विभिन्न समयमा कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?