पाल्पा मै पहिलो ‘फुटसल’ रामपुरमा शुभारम्भ

पाल्पा, पाल्पा मै पहिलो पटक रामपुरमा ‘फुटसल’ सञ्चालनमा आएको छ । बढ्दो जनघनत्व, बस्ती विस्तार र खुल्ला ठाउँको अभाव तथा वर्षादका कारण शारीरिक व्यायाम संगै फुटबल अभ्यास बाट वञ्चित भएकाहरुको लागि मध्यनजर गरी फुटबलको सानो रुप ‘फुटसल’ शुभारम्भ गरिएको हो ।

रामपुर नगरपालिका ५ का लेखनाथ रेग्मीले मटेरी ठूलोटार नजिकै फुटसल निर्माण गरी सञ्चालनमा ल्याउनु भएको हो । स्थानीय खेलप्रेमी रेग्मीले झण्डै साढे २ रोपनी क्षेत्रफलमा झण्डैं एक करोडको लागतमा आर्कषक फुटसल कोर्ट तयार पार्नु भएको हो ।

रामपुर फुटसल एकेडेमीको शनिबार विहान रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उट्घाटन गर्नु भएको हो । उट्घाटन गर्दै नगर प्रमुख थापाले ‘फुटसल’ बालक देखि वृद्ध सम्मलाई सुरक्षित शारीरिक व्यायम गर्न स्थान भएको बताउनुभयो । खुल्ला स्थानमा खेल अभ्यासको चोटपटक लाग्ने सम्भावना रहने भन्दै फुटसल अभ्यासको लागि निकै सुरक्षित र प्रभावकारी हुने बताउनुभयो । नगर प्रमुख थापाले करोडौंको लगानीमा खेलकुदको विकासको लागि नगरपालिका भित्र एकेडेमी निर्माण हुनु गौरवको कुरा रहेको भन्दै यस्ता लगानीकर्ताहरुलाई नगरपालिकाले प्रोत्साहन गर्दै आएको जानकारी गराउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले स्वास्थ्यको लागि व्यायम र राष्ट्रको लागि खेलकुदको महत्वपूर्ण स्थान रहने बताउनुभयो । स्थानीय खेलप्रतिभा उजागर गर्न एकेडेमीको महत्वपूर्ण स्थान रहने बताउनुभयो । उहाँले उत्कृष्ट व्यवस्थापनका साथ एकेडेमीको दिगो सञ्चलनको शुभकामना व्यक्त गर्नुभयो । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराईले रामपुरको विकासमा फुटसलले एउटा ईट्टा थपेको बताउनुभयो । कार्यक्रममा नेपाल सरकारका पूर्व शाखा अधिकृत श्यामकान्त खनालले विकासको लागि जमिनको सही सदुपयोगको आवश्यक रहेको बताउनुभयो ।

रामपुर फुटसल एकेडेमीका सञ्चालक लेखनाथ रेग्मीले दिन, रात, घाम पानी नभनीकन खेल्न पाइनेहुदाँ नियमित खेलको अभ्यास गर्नेलाई प्रोत्साहन गर्दै युवाहरुलाई लक्ष्यीत गरेर फुटसल सञ्चालन गरिएको बताउनुभयो । यस संगै आउदा दिनमा ब्याडमिण्टन कोर्टको लागि पूर्वाधार निर्माण गर्ने तयारी रहेको जानकारी गराउनु भयो । सञ्चालक शम्भु रेग्मीको अनुसार फुटसल १ सय १० फिट लम्बाई र ६५ फिट चौडाईमा निर्माण भएको छ । झण्डै १ करोड बढीको लागतमा निर्माण गरिएको फुटसल एकेडेमीमा ‘फुटसल’ नियम अनुसार नै खेलाईने छ । सञ्चालक लेखनाथ रेग्मीको अध्यक्षतमा भएको कार्यक्रम समाजसेवी दुर्गा प्रसाद पोखरेलको स्वागत र दिपेन्द्र प्रसाद भट्टराईको सञ्चालन भएको हो ।

यस्तो छ ‘फुटसल’ को नियम

फुटसल भनेको ‘मिनी’ फुटबल हो । फरक के हो भने यो ‘इन्डोर’ खेलिन्छ । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । प्रत्येक टिममा एक गोलरक्षकसहित पाँच खेलाडी हुन्छन् । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् ।
यो सामान्यतः २० मिनेट प्रतिहाफ खेलाइन्छ । दुई हाफको बीचमा १५ मिनेटको विश्राम हुन्छ । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ । गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?