आज कुशे औँसी , बुवाको मुख हेर्ने दिन देशै भर मनाईदै

पाल्पा- आज कुशे औँसी अर्थात पिता तिर्थ बुबाको मुख हेर्ने दिन , बुबाको सम्मान गरि देशभर मनाईदैछ । ‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताका आधारमा हिन्दुधर्मावलम्बीहले आज पितालाई विशेष सम्मान गर्छन् ।

कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिकपीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्नान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन् ।

भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्य लगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ । हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?