पत्रकार महासंघ पाल्पामा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरुको दुर्घटना बिमा

पाल्पा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाल्पाले क्रियाशील पत्रकार तथा सञ्चारकर्मी र कर्मचारीकोे दुर्घटना बिमा गरेको छ । महासंघमा अावद्ध जिल्लाका पत्येक पत्रकारको एक लाख बिमांकको दुर्घटना बिमा गरिदिएको हो ।

महासंघले सोमबार सगरमाथा इन्स्योरेन्स कम्पनी सँग वीमा सम्झौता गरेको हो । विमा मार्फत पत्रकार र कर्मचारीहरुको दश हजार बराबरको उपचार खर्च समेत व्यहोर्ने भएको महासंघका जिल्ला कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले बताउनुभयो । भदौ २९ गतेदेखि  लागू हुनेगरी जिल्लाका १ सय १ जना पत्रकारहरूको सामूहिक दुर्घटना बिमा गरिदिएको हो । सगरमाथा इन्स्योरेन्स पाल्पा शाखाका प्रबन्धक करुणा काफ्लेले महासंघका जिल्ला अध्यक्ष रेखीराम रानालाई बिमा पोलिसी हस्तान्तरण गर्नु भएको थियो ।

पोलिसी ग्रहण गर्दै नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रानाले पत्रकारको पेशागत र भौतिक सुरक्षामा महासंघ गम्भीर रहेको बताउँदै पत्रकारका लागि दुर्घटना बिमा अपरिहार्य रहेको बताउनुभयो । साथै उहाँले सामूहिक दुर्घटना बिमाले पत्रकारको भौतिक सुरक्षा तथा सम्भावित जोखिमका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।पोलिसी हस्तान्तरण गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनीका शाखा प्रवन्धक काफ्लेले कुनै पनि दुर्घटनामा परी घाइते भई उपचार गर्नु परेमा पत्रकारले १० हजार बराबरको बिमा दावी रकम पाउने, दुर्घटनामा परी अंङ्ग, भङ्ग भए सर्त अनुसार रकम पाउने र यदि दुर्घटनामा परी ज्यान गुमाएमा एक लाख बिमा दावी रकम कम्पनीले तत्कालै उपलब्ध गराउने जानकारी दिनुभयो ।

पत्रकार महासंघमा आवद्ध ९९ जना सदस्य तथा २ जना कर्मचारी सहित १ सय १ जनाको प्रतिव्यक्ति एक लाखको दरले कुल एक करोड १ लाखको दुर्घटना विमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?