राष्ट्रिय बाल दिवस : रामपुरमा हाजिरी जवाफ तथा कुर्ची दौड प्रतियोगिता

पाल्पा, ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ मंगलबार देशैभर विभिन्न कार्यक्रम गरी ५७ औँ राष्ट्रिय बाल दिवस मनाईएको छ । बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको सरकारी तथा गैरसरकारी संघ संस्था संगै स्थानीय तहहरुले पनि कार्यक्रम गरी बाल दिवस मनाएका हुन् ।

पाल्पाको रामपुर नगरपालिकाले हाजिरी जवाफ तथा कुर्ची दौड प्रतियोगिता सम्पन्न गरी बालदिवस मनाएको छ । माध्यमिक तह स्तरिय हाजिरी जवाफ प्रतियोगिता र आधाभूत तह स्तरिय छात्र/छात्रा कुर्ची दौड प्रतियोगिता भएको थियो । नगरपालिका भित्रका १७ विद्यालयको सहभागिता रहेको हाजिरी जवाफ प्रतियोगितामा प्रथम आनन्द निकेटन विद्याश्रम रामपुर ७ कृष्णबारीको अस्मिता श्रेष्ठ, शनिसा भट्टराई र आयुसा भट्टराईको समुह, द्वितिय जनविकास माध्यमिक विद्यालय रामपुर ३ रजघराको विदुर खनाल, सन्ध्या पाठक र विष्णु तिवारीको समुह, तृतिय गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटारको निरज अर्याल, अनमोल रेग्मी र सामना न्यौपानेको समुह र सान्त्वना आधारभूत माध्यमिक विद्यालय रामपुर ७ डुम्री गाउँको मोहमद इर्फान मिया, सुप्रिया गैरे, मनोज गौतमको समुह भएको छ । विजेता समुहले क्रमश नगद १५ हजार, १० हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र हात पारेका छन् ।

प्रतियोगिता अन्तर्गत छात्र कुर्ची दौडमा प्रथम गंगा माबिका सुदिप श्रेष्ठ, द्वितिय शंकर आधारभुत विद्यालयका अनिस मल्ल, तृतीय भानुभक्त माबिका विनय थापा, सान्त्वना आनन्द निकेतन विद्याश्रमका मनोज आले र छम्के आबिका अंकित सिंजाली हुनुभएको छ । त्यस्तै छात्रा तर्फ कुर्ची दौडमा शंकर माबिका रुप्सना खड्का प्रथम, आनन्द निकेतन विद्याश्रमका रस्मिता श्रेष्ठ द्वितिय, छम्के आधारभुत विद्यालयका कौशिका पोखरेल तृतीय, भानुभक्त माबिका सदिक्षा अधिकारी र जनकल्याण माबिका सम्झना मश्राङ्गी हुनुभएको छ । विजयी विद्यार्थीहरुले क्रमश नगद ५ हजार, ३ हजार, २ हजार र १/१ हजार सहित प्रमाण पत्र हात पारेका छन् ।

विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकका नगर प्रमुख रमण बहादुर थापाले विभिन्न अन्तराष्ट्रिय सन्धी र सम्झौता तथा संविधानले बालबालिकाको लागि प्रदान गरेको अधिकार कार्यान्वयन चरणमा अघि बढे पनि सरकारले अझै पनि पूर्ण प्रत्याभु गराउन नसकिरहेको बताउनुभयो । उहाँले नगरपालिका पनि बालअधिकार रक्षाको लागि प्रयासरत रहे पनि प्रभावकारी ढंग बाट कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनुभयो । बालबालिकाहरु संग प्रत्यक्ष साक्षत्कार गरी, समस्या पहिचान गरेर समाधान गर्नका लागि यस वषै मेयर संग बालबालिका कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले बालबालिका भविष्यको कर्णधार रहेको बताउँदै उनीहरुको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । उहाँले नगरपालिका अधिकार प्रत्यभूत गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले बालबालिकाहरु माथि हुने हिंसा न्यूकिरणमा हातेमालो सबैलाई आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले समाजमा भएका विकृति हटाउन बालबालिकाले पनि महत्वपूर्ण भुमिका खेल्दै आएको स्मरण गराउनुभयो । उहाँले समाजमा रहेको बालविवाह हताउन, बाल श्रम मुक्त अभियान सञ्चालनमा बालबालिकाको ठूलो योगदान रहने बताउनुभयो । उहाँले नगरपालिका बालमैत्री वातावरण निर्माणमा अघि बढेको बताउनुभयो । रामपुर नगरपालिका प्रवक्ता हुमनाथ न्यौपानेले बालबालिका भविष्य वर्तमानको वातावरणले निर्धारण गर्ने भएकाले उनीहरुको उचित शिक्षा, स्वस्थ्य, पोषण र मनोरञ्जन विषेश ख्याल गर्नु पर्ने बताउनुभयो । रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्लले बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्नको लागि समय समयमा प्रतियोगिताहरुको आश्यकता रहने बताउनुभयो ।

रामतुलसी माध्यमिक विद्यालयमा भएको प्रतियोगिता रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको थियो । सहभागीहरुलाई रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका महिला विकास सहायक निरिक्षक पुजा परियारले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?