विश्वकर्मा बाबा मन्दिरमा नियमित पूजापाठ सञ्चालनको लागि अक्षयकोष स्थापना

पाल्पा, विश्वकर्मा बाबा मन्दिर रामपुर ७ कठानमा नियमित पुजापाठ सञ्चालनको लागि अक्षयकोष स्थापना भएको छ । रामपुर नगरको एक मात्र विश्वकर्मा मन्दिरमा दैनिक पुजापाठ सञ्चालन तथा व्यवस्थापनका लागि रामपुर क्षेत्रका समाज सेवि व्यक्तिहरुले कोष स्थापना गरेका हो ।

विश्वकर्मा पुजाको अवसरमा भएको एक कार्यक्रमका विच विभिन्न व्यक्तिहरुले झण्डै ६६ हजार बढीको कोष स्थापना गर्नु भएको हो । कोष स्थापनाको लागि अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले ३५ हजार ७ सय, समाजसेवी दोवराज तिवारी, दुर्गा भट्टराई र नेत्र प्रसाद भट्टराईले ५ हजार १ सय/५ हजार १ सय, समाजसेवी कृष्ण प्रसाद भट्टराई, मनोरथ भट्टराई र मुक्ति भट्टराई ५/५ हजार प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आध्यात्मिक विचारले समाजका सबैलाई एकताबद्ध बनाउन सहयोग गर्ने बताउनुभयो । आध्यात्मको शक्तिले वर्ग, लिङ्ग, जात, पाटी केही नभनी अघि बढ्नको लागि थप उर्जा प्रदान गर्ने बताउनुभयो । विश्वकर्मा आफ्नै मेहनतले भगवानको रुपमा चिनिएको र सारा विश्वले मान्दै आएको बताउनुभयो । विश्वकर्माले प्रदान गर्नु भएको ज्ञान बाट नै मेसिन तथा औजारहरु आविश्कार सम्भव भएको बताउनुभयो । नगरपालिकाले मन्दिरको संरक्षण र व्यवस्थापनको लागि सहयोग गर्दै आएको र आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले विश्वकर्मा भगवान कुनै जात र धर्म विशेष नभई सारा विश्वको रहेको बताउनुभयो । उहाँले मन्दिर स्थापना हुनु आफैमा गौरवको विषय रहेको बताउँदै विश्वकर्मको शक्तिले समाजलाई अघि बढाउन थप प्रेरणा प्रदान गरेको बताउनुभयो । नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराईले विश्वकर्मा बाबाको मन्दिरको उत्थानका लागि सबैले हातेमालो गर्नु आवश्यक रहेको बताउनुभयो । नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मीले विश्वकर्मा बाबा मेहेनतलाई सम्मान गर्ने व्यक्ति भएको उल्लेख गर्नुभयो । नेकपा माओवादी केन्द्रका रामपुर नगर कमिटी ईन्चार्ज कमलराज भट्टराईले विश्वकर्मा मन्दिर नगरकै मन्दिर भएको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) पाल्पाका सल्लाहाकार संयोजक लेखनाथ पोखरेल विश्वकर्मा बाबाको उद्धार भएमा भक्तजनहरुको पनि उद्धार हुने बताउनुभयो । कार्यक्रममा विश्वकर्मा बाबा मन्दिर संरक्षण समितिका सल्लाहाकार सदस्य अर्जुन सुनार र याम बहादुर सुनारले सबैको ध्यान केन्द्रित हुनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा मन्दिर निर्माणको लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । मन्दिर निर्माण रन बहादुर वि.क.को नेतृत्वमा सुरु भएको थियो । मन्दिरमा भगवान विश्वकर्माको प्रतिमा स्थापनाको लागि समाजसेवी केशव पोखरेलले सहयोग गर्नु भएको थियो । विश्वकर्मा बाबा मन्दिर संरक्षण समितिका अध्यक्ष टेक बहादुर वि.क.को अध्यक्षतमा भएको कार्यक्रम सल्लाहार कृष्ण प्रसाद भट्टराईको स्वागत र कलाकार डिवि कालिजको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?