३ रोपनीमा भिण्डी लगाएर ३ लाख बढी आम्दानी लिन सफल आचार्य दम्पती

पाल्पा, गत बैशाखमा रामपुर नगरपालिका ६ प्याकलुकका कृषक दम्पती सुर्य प्रसाद आचार्य र सृजना आचार्यले ३ रोपनी खेतमा भिण्डी लगाउने निर्णय गरे । छिमेकीले खेतमा मकै छरिरहेको समयमा खेत भरी भिण्डी लगाए । मकै पछि वर्षदमा धान लगाउँदै आएको खेत भरी भिण्डी लगाएको देख्दा धेरैले अनेक कुरा गरे ।

धान र मकै हुने खेतमा भिण्डी मात्रै लगाएर के खाने भनेका रहेछन् भन्ने कुरा गरे पनि धेरैले भने पनि उनीहरु आफ्नो निर्णय बाट पछि हटेनन् । अन्तत आचार्य दम्पतीले ५ महिनाको अवधीमा ३ रोपनीको भिण्डी खेती बाटै ३ लाख भन्दा धेरै आम्दानी लिन सफल भएका छन् । यस अघि अन्य तरकारी संगै दैनिक ५/१० केजी उत्पादन हुने गरी लगाउँदै आउनुभएको थियो । आचार्यले भन्नुभयो, ‘हामीले भिण्डी ५/१० किलो मात्र उत्पादन गर्दै आएका थियौं । यस पटक खेत भरी नै लगाउन भनेर अनुभवका लागि भिण्डी मात्रै लगायौं । उत्पादन पनि राम्रै भयो ।’

लकडाउनका कारण बजार नपाउने होकी भन्ने चिन्ता भए पनि उत्पादन सुरु भए संगै सहजै बजारमा पुगेको आचार्यले बताउनुभयो । उहाँले थप्नुभयो, ‘यस अघिका वर्षमा ५/१० केजी उत्पादन गर्दा बाहिरको बजारमा पठाउन परिमाण नपुग्ने, स्थानीय बजारमा विक्री नहुने समस्या थियो । यस वर्ष उत्पादन सुरु भए पछि त दिन कै १ क्वीन्टल सम्म उत्पादन हुन थाल्यो । त्यस पछि बुटवल, वालिङ लगाएतका बजारमा पठाउन थाले पछि त माग बढ्न थाल्यो ।’
उहाँले होलसेल मुल्यमा प्रतिकेजी ५० देखि सय रुपैयाँ सम्म भिण्डीले मूल्य पाएको बताउनुभयो ।

आचार्यले सुरुको दिनको स्मरण गर्दै भन्नुभयो, ‘वरपर सबैले मकै छरिरहेको समयमा खेतभर खेतला लगाएर भिण्डी लगाउँदै गर्दा यस पटक मकै र धान कहाँ कता उब्जाउने रहेछ र भन्ने प्रश्न गरेका थिए । तर मैले त यो वर्ष खेतमा उत्पादन हुने मकै र धानको मुल्य एक सिजन मै उठाई सके । त्यति मात्र कहाँ होर ? अझै वर्ष सम्ममा उत्पादन हुने धानको मुल्य बराबरको मुल्य पनि पाईसके ।’ आचार्यले अहिले सम्म ३ लाख बढी आम्दानी लिईसकेको र अझै पनि खेतमा बाट अहिले पनि दैनिक ४०/५० केजी उत्पादन भैरहेको बताउनुभयो । पछिल्लो समय रामपुर क्षेत्र मै विक्री भैरहेको छ । सुर्य प्रसादका श्रीमति सृजनाले तरकारी खेती बाट नै घर खर्चको लागि सहज हुनुका साथै केही बचत गर्न सफलभएको बताउनुभयो ।

१० वर्ष अघि वैदेशिक रोजगार बाट फर्किएर च्याउ संगै सुर्य प्रसाद तरकारी खेतीमा रमाउँदै आउनु भएको छ । १६ वर्ष भारतको मुम्बाई, ७ वर्ष बहराईन र मलेसियाको बसाई पछि स्वदेश मै केही गर्छु भनेर फर्किनु भएको थियो । उहाँले विदेशमा १०/१२ घण्टा खटिने समय स्वदेश मै लगाएमा आत्मनिर्भर हुन सहजै सकिने बताउनुभयो । सुर्य प्रसाद विदेशमा हुँदा श्रीमति सृजना अचार्यले सामान्य तालिम लिएर घरमै तरकारी उत्पादन गर्दै आउनु भएको थियो । सानै देखि घर बाहिर रहेर काम गर्दै आउनु भएको श्रीमानलाई कृषि कर्म बाट स्वदेश मै पनि आत्मनिर्भर बन्न सकिन्छ भनेर बोलाउनु भएको थियो । आफ्नै ठाउँको माटो मै मेहेनत गरेमा अन्त भौतारिनु नपर्ने सृजना बनाउनुहुन्छ । नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्र मै भविष्य रहेको बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?