दशैंको लागि निस्दी बाट १ करोड बढीको खसी बोका विक्री

पाल्पा, दशैंको लागि पाल्पाको निस्दी गाउँपालिका बाट मात्रै १ करोड मुल्यको खसी बोका बिक्री भएको छ । गाउँपालिकाका विभिन्न स्थान बाट ७ सय ४२ वटा खसी बोका पोखरा, चितवन तथा विभिन्न शहरमा बिक्री भएको हो ।

गाउँपालिका भित्रका विभिन्न महिला उद्यमी स्वालम्बन सहकारी तथा अन्य सहकारी मार्फत पशु शाखाको समन्वयमा विक्री भएको हो । वडा नं. १ र ७ बाहेक अन्य वडा बाट कुल ९२ लाख ६२ हजार ९ सय ७७ रुपैयाँ बराबरको खसी बोका बिक्री भएको निस्दी गाउँपालिका पशु शाखा संयोजक ओम बहादुर मश्राङ्गीले जानकारी गराउनुभयो । वडा नं. १ बाकामलाङ र वडा नं. ७ ज्यामिरेमा भने सहकारी मार्फत खसी बोका विक्री नभएकाले त्याहाँ बाट कति खसी बोका बिक्री भयो भन्ने तथ्यांक नभएको संयोजक मश्राङ्गीले बताउनुभयो । तर ज्यामिरे र बाकामलाङ्ग बाट पनि खसी तथा बोका विक्री भएकाले गाउँपालिका बाट १ करोड बढीको खसी निर्यात भएको जानकारी गराउनुभयो ।

केही वर्ष यता बाख्रा पालनमा कृषकहरु उत्साहित भएर लागेको उहाँले बताउनुभयो । खसी बोका गाउँ बाटै तौलको आधारमा प्रति किलो ३ सय ७० देखि ५ सय ५० सम्ममा बिक्री हुँदै आएको छ । साथै प्रदेश सरकारले कृषकहरुको लागि प्रति किलो २५ रुपैयाँको दरले अनुदान प्रदान गर्दै आएको छ । निस्दी गाउँपालिकाका ५ वटा सहकारी मार्फत कृषकहरुले खसी विक्री गर्दै आएका छन् । जस मध्ये यस वर्ष सबै भन्दा धेरै गल्धा सामाजिक महिला उद्यमी सहकारीले सबै भन्दा धेरै विक्री गर्न सफल भएको छ ।

सहकारी मार्फत ५२ लाख १६ हजार बराबरको ४ सय २२ खसी बोका विक्री भएको सहकारीका अध्यक्ष तिरण कुमारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय बाख्रापालनमा कृषकहरुको आकर्षण बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?