पूर्व वडा सभापति ठाडाको ८ औं दिनको पुण्यतिथीमा कांग्रेस रामपुर ४ को शोक सभा

पाल्पा, नेपाली कांग्रेस रामपुर नगर वडा कार्यसमिति रामपुर ४ पाल्पाले शोक सभा सम्पन्न गरेको छ । वडा कार्य समितिका पूर्व सभापति, नेपाल राष्ट्रिय मगर संघ लुम्बिनी प्रदेश कार्य समितिको सदस्य, नेपाल आदिवासी जनजाती संघ पाल्पाको उपसभापति वसन्तराम ठाडाको आठौं दिनको पुण्यतिथीमा शोक सभा गरेको हो ।

स्वर्गीय ठाडाको निवास बरडाँडामा भएको शोक सभा नेपाली कांग्रेस रामपुर नगरपालिका वडा नं. ४ का सभापति थर्क बहादुर रानाको अध्यक्षता र लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री एवं नेपाली कांग्रेस पाल्पाका सभापति वीर बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको हो । शोक सभामा बोल्दै मन्त्री रानाले स्वर्गीय ठाडाले आफ्नो जीवनमा गर्नु भएको कर्म र उहाँको सलर व्यक्तित्वलाई कहिल्यै भुल्न नसकिने बताउनुभयो । उहाँको निधनले अतुलनिय क्षति पुगेको स्मरण गर्दै उहाँको मार्गलाई नयाँ पुस्ताले अवलम्बन गर्न सके मात्र सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकालले विकास संगै समाजका हरेक गतिविधिमा देखाउनु भएको सक्रियता कहिल्यै विर्सिन नसकिने बताउनुभयो । साथै स्वर्गीय ठाडाको आत्मशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको थियो । शोक सभामा नेपाल आदिबासी जनजाति संघ रामपुर नगर कार्य समितिका सभापति राम बहादुर रानाले स्वर्गीय ठाडाको जीवनी माथि प्रकाश पार्नु भएको थियो ।

शोक सभामा नेपाली कांग्रेस जिल्ला कार्य समिति पाल्पा, नेपाली कांग्रेस रामपुर नगर कार्य समिति, विभिन्न वडा कार्य समिति, भातृसंस्था तथा शुभेच्छुक संस्थाहरुले समवेदना पत्र हस्तान्तरण गरेको थियो । शोक सभामा पाटिका नेतृत्व तह संगै कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । शोक सभामा सहभागीहरुलाई स्वर्गीय ठाडाका जेठो छोरा कालुराम ठाडाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । शोक सभाको सञ्चालन नेपाली कांग्रेस रामपुर रामपुर ४ का सचिव कमल रानाले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?