उज्यालो बचत तथा ऋण सहकारीको आठौं साधारण सभा सम्पन्न

पाल्पा, उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर–६ विजयपुर पाल्पाको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले विहिबार दरैठाँटी माध्यमिक विद्यालयको सभाहल विजयपुरमा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नागरिकको आर्थिक सम्बृद्धिका लागी संस्थाले खेलेको भुमिकाको प्रसंशा गर्दै शेयर सदस्यहरुलाई ऋणको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी संस्थाले उत्पादनशिल क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको भन्दै उद्यमशिलतामा जोड दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडा भित्रको आर्थिक विकासमा उज्यालो बचत तथा ऋण सहकारीले नयाँ आयाम थपेको बताउनुभयो । कार्यक्रममा अन्धकारमुक्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा , संस्थाका सल्लाहाकार कृष्ण कुमार अर्याल, शेयर सदस्य ओम प्रकाश रेग्मी र शारदा आचार्यले बोल्दै संस्थाको प्रगतिको कामना सहित सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण लम्सालले करिब ५ करोड रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन सहितको वार्षिक प्रगतिविवरण प्रस्तुत गर्नु भएको थियो ।

यस्तै लेखा संयोजक पुरुषोत्तम ढकालले लेखा प्रतिवेदन, ऋण उपसमिति संयोजक कृष्ण प्रसाद अर्यालले ऋण निति प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान सहित पुरस्कृत गरेको थियो । साधारण सभाका अवसरमा एसईईमा उत्कृष्ट विद्यार्थी शिक्षा पंगेनी , आकाक्षा अर्याल , सम्झना ढकाल र प्रज्वल रेग्मी, ज्येष्ठ सदस्य ईन्द्र बहादुर शाही, असल ऋणी पहल सिं आले र असल बचत कर्ता हरि प्रसाद ढकाललाई पुरस्कृत गरेको छ । सहकारी संस्थाका अध्यक्ष बालकृष्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रम, कोषाध्यक्ष सुर्य प्रसाद लम्सालको स्वागत र सचिव ईश्वर अधिकारीको सञ्चालनमा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?