लिग च्याम्पियन रामपुर युनाईटेडका खेलाडीहरुलाई रामपुर नगरपालिकाको सम्मान

पाल्पा, रामपुर नगरपालिकाले खेलाडीहरुलाई सम्मान गरेको छ । पाल्पा जिल्ला फुटबल संघको आयोजनामा भएको जिल्ला स्तरिय लिगको च्याम्पियन रामपुर युनाईटेड फुटबल क्लवका खेलाडीहरुलाई सम्मान गरेको हो ।

जिल्ला स्तरिय लिगको उपाधी हात पर्दै प्रदेश स्तरिय लिगमा छनौट भएका खेलाडीहरुलाई दशौं नगर सभामा सम्मान गरेको हो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णु देवि घिमिरे आचार्य र प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले टिम कोच, टिम म्यानेजर, टिम क्याप्टेन र खेलाडीहरुलाई खादा लगाई र सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो ।

गत मंसिर ६ गते देखि २३ गते सम्म तानसेनमा भएको लिग विजेता रामपुर युनाईटेड फुटबल क्लवले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको थियो । क्लवको तर्फ बाट प्राप्त शिल्ड सहितको पुरस्कार टिम कोच सुधाम्शु हमाल, टिम म्यानेजर हरि बहादुर ज्ञावली र टिम क्याप्टेन अनिल शाहीले हस्तान्तरण गर्नु भएको थियो ।

खेलाडीलाई सम्मान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरले खेल क्षेत्रमा सोचे अनुसार काम गर्न नसके पनि आफ्नो प्रयासलाई जारी राख्दै आएको बताउनुभयो । उहाँले खेलले समाज र राष्ट्रलाई थप पहिचान दिने बताउँदै थप सफलताको शुभकामना दिनुभयो । फुटबल संगै अन्य खेलको विकास, खेलाडीको उत्थानका लागि नगरपालिकाले क्षमता अनुसार सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । टिम म्यानेजर हरि बहादुर ज्ञावलीले नगरपालिकाले प्रदान गरेको सम्मानले खेलाडीहरुलाई थप हौसला प्रदान गरेको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?