रामपुरमा एक दिने कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

पाल्पा, पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) मा सहभागी लुम्बिनी कलष्टर दोस्रो अन्तर्गतको नवौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला रामपुरमा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) द्वारा सञ्चालित (प्रोवेशन) अन्तर्गत एक दिने कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला भएको हो ।

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरको आयोजना र (नेफ्स्कून) को प्रविधिक सहयोगमा भएको कार्यशालामा लुम्बिनी कलष्टर दोस्रो अन्तर्गत रहेका ९ वटा सहकारीका अध्यक्ष, व्यवस्थापक सहित कर्मचारी तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । होटेल न्यू श्रीनगरको सभाहलमा भएको कार्यशालाको एक कार्यक्रमका विच उट्घाटन गरिएको थियो ।

कार्यक्रमको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आर्थिक समृद्धिको लागि सहकारीले ठूलो योगदान दिएको स्मरण गर्दै कर्जा लगानीको क्रममा विशेष ध्यान दिन आग्रह गर्नुभयो । थापाले कर्जा लगानी पूर्व वस्तुस्थितिको बारेमा अध्ययन गर्नुका साथै लगानी पश्चात अनुगमन गर्न सकेमा ऋण लगानीले सार्थकता प्राप्त गर्ने बताउनुभयो । ‘पछिल्लो समय बाख्रा, कुखुरा पालनको लागि भनेर कर्जा लिने तर प्रयोग अन्यत्र हुने प्रचलन बढ्दो छ ।’ उहाँले भन्नुभयो, ‘कर्जा प्रवाह गर्नु पूर्व र लगानी गरिसके पछि पनि ध्यान दिनु जरुरी छ । लगानीको सहि सदुपयोग बाट मात्र आर्थिक उन्नति गर्न सक्छौं ।’

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले स्थानीय तहलाई सहकारीको नियमन र निरिक्षण गर्ने अधिकार प्रदान गरे पनि विज्ञ कर्मचारीको अभावमा कार्य अघि बढाउन नसकिएको बताउनुभयो । कार्यक्रममा रामपुर साकोसका अध्यक्ष राजु प्रसाद श्रेष्ठले सरकारले सहकारीलाई फरक दृष्टिकोणले हेरेको बताउनुभयो । शहरी क्षेत्रमा रहेका सहकारीहरुको व्यवहारले गाउँका सहकारीहरुलाई असर गरेको बताउनुभयो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष खगेन्द्र न्यौपानेको स्वागत र सचिव ओम प्रकाश बस्यालको सञ्चालनमा भएको हो ।

कार्यशालामा ९ वटै सहकारीका व्यवस्थापकहरुले आफ्ना संस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले गर्नु भएको थियो । कार्यशालाले अगामी कार्यदिशा तय गर्नुका साथै आगामी १० औं कार्यशाला फेवा साकोस बुटवलको आयोजनामा असार ११ गते गर्ने निर्णय गरेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारीका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?