शुक्रबार बाट सुरु हुने एसईईमा पाल्पा बाट ४ हजार ८ सय ४१ परीक्षार्थी सहभागी हुँदै

पाल्पा, यही शुक्रबार देखि देशै भर सञ्चालन हुन गैरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पाल्पा बाट ४ हजार ८ सय ४१ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका अनुसार नियमित तर्फ ४ हजार ७ सय ८३ र ग्रेड वृद्धि तर्फ ५८ जना परीक्षार्थी सहभागी हुन लागेको हो । जिल्लाका दश स्थानीय तहमा रहेका १ सय ३६ विद्यालय बाट २ हजार ४ सय ५० छात्रा तथा २ हजार ३ सय ९१ छात्र एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । यस वर्ष पाल्पा बाट फरक क्षमता भएका परीक्षार्थी परीक्षामा सहभागी नहुने सुवेदीले बताउनुभयो ।

समन्वय इकाईका अनुसार सामुदायिक तर्फ १ सय १६, संस्थागत तर्फ २०, खुल्ल तर्फ १ र प्रविधिक तर्फ ११ विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछ । इकाई प्रमुख सुवेदीका अनुसार २६ वटा केन्द्रमा सञ्चालन हुने परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि २६ जना केन्द्राध्यक्ष, ३२ जना सहायक केन्द्राध्यक्षय, दुई सय ४२ जना निरीक्षक, ४९ जना परीक्षा सहायक, ९८ जना कार्यालय सहयोगी तथा ३ सय ९० जना सुरक्षाकर्मी खटिने छन् ।

साथै शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले परीक्षालाई मर्यादित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि आआफ्नो क्षेत्र बाट सहयोग गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ । सबै परीक्षा केन्द्रहरुको वातावरण सुरक्षित र व्यवस्थित बनाईएकाले उच्च मनोबलका साथ परीक्षाको मर्यादा भित्र रही सहभागी हुन परीक्षार्थीहरुलाई अपिल गरेको छ । परीक्षाको परीक्षा समितिका पदाधिकारी, शिक्षा विकास तथा समन्वय इकाईका कर्मचारी, शिक्षकका पेशागत संघ संस्था, प्याव्सनका पदाधिकारीहरु बाट अनुगमन समेत गरिने जनाएको छ ।

यस अघि कोभिड महामारीका कारण दुई वर्ष देखि भौतिक उपस्थितीमा एसईई परीक्षा हुन सकेको थिएन । आन्तरिक मुल्याङकनलाई परीक्षाको रुपमा लिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?