रामपुर १ को चण्डिहानमा शहरी स्वास्थ्य केन्द्र स्थापना

पाल्पा, रामपुर नगरपालिका वडा नं. १ चण्डिहानमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । रामपुर नगरपालिका १ र २ का माथिल्लो बस्तीका जनताहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नको लागि शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

स्वास्थ्य केन्द्रको सोमबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उट्घाटन गर्नु भएको हो ।स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख थापाले नागरिकको स्वास्थ्य सबै भन्दा महत्वपूर्ण भएकाले आधारभूत सेवा घरद‌ैलो बाटै प्रदान गर्न स्वास्थ्य संस्था स्थापना र स्तरउन्नतिमा जोड दिने बताउनुभयो । उहाँले स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने सम्पुर्ण कुराहरुमा सहयोग गर्न नगरपालिका तयार रहेको उल्लेख गर्नुभयो । थापाले भन्नुभयो, “स्वास्थ्य केन्द्रको लागि आवश्यक जनशक्ति र सामाग्रीको व्यवस्था गर्ने छौं । स्वास्थ्य केन्द्र सम्म अाउने सेवाग्राहीको व्याथा स्वास्थ्यकर्मीको राम्रो व्यबहार र परामर्शले आधा निको हुन्छ । त्यसैले अौषधी संगै व्यवहारमा विशेष ध्यान दिनुहोला ।” साथै नगरप्रमुख थापाले स्वस्थ मान्छे नै सुखी हुने भएकोले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बिशेष ध्यान दिने बताउनु भयो ।

साथै कार्यक्रमको अवसरमा वडा नं. १ र २ लाई पुर्ण खोप वडा सुनिश्चितता घोषणा गरिएको छ । बालबालिकाहरुलाई खोपको पुर्णता प्रदान गरिए संगै प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा रामपुर नगर उपप्रमुख बालकुमारी थापाले नगरभित्रको आमा र बालबालिकाहरुको स्वास्थ्य सुरक्षा र पोषणको लागि नगरपालिकाले थप कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले स्वास्थ्य सेवालाई सहज बनाउन सबैको सहयोगको खाँचो रहनेमा जोड दिनुभयो ।
वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँण, वडा नं. २ का अध्यक्ष कृष्ण बहादुर दर्जी, ज्ञानमन्जरी आधारभूत विद्यालयका प्रधानाध्यापक दानस मल्ललगायतले बोल्दै संस्थाको स्थापना हुनु जति महत्त्वपूर्ण छ त्यो भन्दा महत्त्वपूर्ण प्रभावकारी सेवा र संस्थाको दिगोपन रहेको बताएका थिए ।

खोप व्यवस्थापन समिती रामपुर १ का अध्यक्ष मित्रलाल कंडेलको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे स्वागत र गाँडाकोट स्वास्थ्य चौकिका प्रमुख मजिबुर रहमान शेखको सञ्चालनमा भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?