रामपुरमा दुग्ध उत्पादनका लागि सञ्चालित उप–आयोजना अन्तर्गत कृषकलाई अभिमुखीकरण

पाल्पा, रामपुरमा सञ्चालित दुग्ध उत्पादनका लागि गाईभैंसीपालन उप–आयोजना अन्तर्गत विहिबार अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । नेपाल लाइफस्टक सेक्टर इनोभेसन आयोजना बिकेन्द्रिकृत आयोजना सहयोग इकाई बुटवलको सहयोग र सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरको व्यवस्थापनामा सञ्चालित उप–आयोजनामा सहभागी कृषकहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाल लाइफस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाई बुटवलका योजना अधिकृत डाक्टर खिमानन्द खनालले आयोजनाको बारेमा जानकारी दिदै अहिले ४७ वटा समुह सहकारी संगको समन्वयमा कृषि प्रवद्र्धनका कार्यक्रम सञ्चालन भैरहेको बताउनुभयो । कृषकहरुको गुनासोलाई सम्बोधन गर्दै उहाँले समय मै तोकिएका मापदण्ड पुरा गरेमा अनुदान भुक्तानीमा सहज हुने बताउनुभयो ।

नेपाल लाइफस्टक सेक्टर इनोभेसन आयोजना बिकेन्द्रिकृत आयोजना सहयोग इकाई बुटवलका अनुगमन तथा मुूल्याङकन विज्ञ दुर्गा बहादुर बोहोराले आयोजनामा सहभागी कृषकहरुलाई प्रक्रियाको बारेमा प्रकाश पार्नु भएको थियो । नेपाल लाइफस्टक सेक्टर इनोभेसन आयोजना बिकेन्द्रिकृत आयोजना सहयोग इकाई बुटवल इन्जिनियर सन्तोष थापाले आयोजना अन्तर्गत निर्माण हुने गाई भैसीको गोठको मापदण्डको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष ओम प्रकाश रेग्मी सहित सहभागी कृषकहरुले आफ्ना भनाई राखेका थिए । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण कुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कर्मचारी सरिता पंगेनीको स्वागत बाट सुरु भएको थियो । सहभागीहरुलाई धन्यवाद पशुधन सुरक्षण समितिका संयोजक नगिलाल पौडेलले ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव गंगा प्रसाद श्रेष्ठले गर्नु भएको हो ।

उप–आयोजनाको एक करोड र लाभग्राहीको एक करोड गरी कुल दुई करोडको लागतमा संचालन गरिएको आयोजनामा सीता कुण्ड दुग्ध उत्पादक सहकारीका १९ जना कृषकहरुको सहभागीता रहेको छ । साथै आयोजनाको अनुगमन समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?