माथागढीमा समिक्षा संगै सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुको आधारभूत तालिम सम्पन्न

हरि जि.सि
पाल्पा,माथागढी गाउँपालिकामा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरुको समिक्षा गोष्ठी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुको लागि १० दिने आधारभूत तालिम सम्पन्न भएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजना गोष्ठी तथा तालिम भएको हो ।

कार्यक्रम बोल्दै माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले स्वयंसेविकाहरुलाई सहज रुपमा सेवा प्रवाहका लागि मोबाइल सहित सिम उपलब्ध गराउने बताउनुभयो । उहाँले स्वयंसेविका परिवारलाई सरकारले ५० प्रतिशत र गाउँपालिकाले ५० प्रतिशत गरि सतप्रतिशत बिमा गरिदिने प्रतिवद्धता जनाउनुभयो । आफूहरू भर्खरै निर्वाचित भएर आएकोले बजेट नीति तथा कार्यक्रममा सक्दो प्रोत्साहन कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

कार्यक्रम बोल्दै माथागढी गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चेले महिला स्वास्थ्य स्वयंसेविकाहरुको कार्यको उच्च मूल्याङ्कन गर्दै गाउँपालिकाले प्रोत्साहन गर्ने बताउनुभयो । सामाजिक विकास संयोजक तथा वडा नं. १ का वडा अध्यक्ष राजकुमार पन्थीले महिला स्वास्थ्य स्वयंसेविकाले गर्दै आएको योगदान अनुसार सेवा सुविधा नभएको भन्दै अब गाउँपालिका प्रमुख, उपप्रमुख स्वास्थ्य क्षेत्र बाट आएकोले धेरै सहज हुने विश्वास व्यक्त गर्नुभयो । वडा नम्बर ४ का वडा अध्यक्ष शंकर दर्लामीले स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्नुका साथै गाउँपालिकाले प्रोत्साहन सोरुप उनीहरुलाई तालिम लगायत अन्य सेवाहरु दिन आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ कार्यलयका पाल्पा प्रमुख डाक्टर राजेन्द्र प्रसाद गिरिले तालिमले स्वास्थ्य स्वयंसेविकाहरुको क्षमतामा अभिबृद्धि हुनुका साथै कार्य गर्न थप सहयोग हुने बताउनुभयो । तालिममा सुरक्षित प्रसूतिसेवा,बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण तथा जुकाको औषधी, बालबालिकालाई भिटामिन खुवाउने, परिवार योजना, पोषण खाना लगायतका विषयमा सहजीकरण गरिएको थियो । तालिममा माथागढी गाउँपालिका भित्रका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुको सहभागिता रहेको थियो ।

त्यस्तै नेपाल नेत्र ज्योती संघ पाल्पाका सन्तोष दर्जी, स्वास्थ्य चौकीका प्रमुखहरु तथा ८ वटै वडाका स्वास्थ्य स्वयंसेवीका कार्यक्रममा सहभागीता रहेको थियो । सामाजिक विकास समितिका संयोजक तथा वडा न.१ वडा अध्यक्ष पन्थीको अध्यक्षतामा भएको कार्यक्रम नर्सिङ निरक्षक किरण जि.सिको स्वागत र माथागढी गाउँपालिका स्वास्थ्य प्रमुख केशव जि सिको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?