पूर्वखोलालाई पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । मापदण्ड पुरा भए संगै जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल र उप प्रमुख काशिका गैरेले पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नु भएको हो ।

गाउँपालिकाले पहिलो चरणमा ६ वटा वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको थियो । हाल सोही तथ्यांक र इन्डिकेटरहरूको आधारमा पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । गाउँपालिकाको स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिनामा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेर अनुसार खोप पाए नपाएको एकिन गरि छुटेको पाइएमा बैशाख महिनामा खोप दिने प्रकृया अनुरूप खोप दिने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

सोही निरन्तरता प्रकृया अनुरूप पुर्वखोला गाउँपालिकाका ६ वटै वडाहरूलाई पुर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको र सबै सर्तहरू पूरा गरि गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकामा १२ बर्ष भन्दा माथि उमेरका कोभिड विरूद्वको खोप लगाएका नागरिकहरूको सख्या १२ हजार १ सय २ जनाले पुर्ण मात्रामा खोप लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्यांक रहेको छ । सोही तथ्यांकमा आधारमा पालिकाका करिब ९९ दशमलव ८० प्रतिशत कोभिड विरूद्वको खोप पालिका घोषणाका लागि जिल्ला समन्वय समिति समक्ष पेस गरिएको र स्वीकृत भई घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले पुर्वखोला गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणाका लागि आवश्यक तथ्यहरू पेस भएको र सोही तथ्यका आधारमा घोषणा गरिएको बताउनुभयो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोनाका कारण धेरै नागरिकहरूको मृत्युु भएको परिस्थितिमा कोभिड रोकथामको उत्तम विकल्प नै कोभिड विरूद्वको खोप उत्तम विकल्प रहेको परिस्थितिमा हाल पुर्वखोला गाउँपालिकाले पालिकाका नागरिकहरूलाई पुर्ण खोप प्रदान गरि पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्न सफल भएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले पुर्वखोला गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा हुन सफल भएकोमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन आउने गरि स्वास्थ्य क्षेत्र केन्द्रित गरि कार्यक्रम अगाडि बढाउन आग्रह गर्नुभयो । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख, महिला स्वास्थ्य स्वंसेविका तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

 

पूर्वखोला कोभिड–१९ विरुद्धको पूर्ण खोप पालिका

यस्तै पूर्वखोला गाउँपालिकालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप पालिका घोषणा गरिएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय र प्रदेश कार्यालयको समन्वय र आई एफ आर सि को आर्थिक सहयोगमा संचालित कोभीड–१९, पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत गाउँपालिकालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

रेडक्रसले जिल्लाको पूर्वखोला र निस्दी गाउपालिकामा आई एफ आर सि को आर्थिक सहयोगमा कोभिड–१९, पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत खोज र खोप अभियान सञ्चालन गरेको थियो । गाउँपालिकामा भएको पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम संगै कोभिड–१९ विरुद्धको पूर्ण खोप पालिका घोषणा एकै साथ भएको थियो ।

पूर्वखोला गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समिति संयोजक नुन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सभापति शम्भु पोखरेल, नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापती बुद्धि प्रसाद शर्मा, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनी, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश उप–कार्यक्रम निर्देश राजकुमार क्षेत्री, नेपाल रेडक्रस सोसाइटी पाल्पाका बरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, कार्यक्रम अधिकृत बिनोद भारति, स्वास्थ्य कार्यालय प्रमुख डाक्टर राजेन्द्र कुमार गिरी र सागर के.सी.को उपस्थिती रहेको थियो । पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालको स्वागत र श्रीराज आचार्यको संचालनमा भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?