रामपुरमा ३ महिने मन्टेश्वरी शिक्षक तालिम सम्पन्न

पाल्पा, रामपुर नगरपालिका–५, बेझाँडमा ३ महिने मन्टेश्वरी शिक्षक तालिम सम्पन्न भएको छ । ब्राइट स्टेप मन्टेश्वरी बेझाँड र नेपाल करियर ट्रेनिङ्ग फाउण्डेशन बागबजार काठमाडौंको सहकार्यमा भएको तालिमको शनिबार समापन गरिएको हो ।

सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले निजी तथा सामुदायिक विद्यालयमा बालमनोभावना अनुसार प्रभावकारी ढंग बाट कक्षा सञ्चालन गर्नका लागि यस्तो तालिम अपरिहार्य रहेको बताउनुभयो । उहाँले प्ले ग्रुपका विद्यार्थीहरुलाई खेल्दै, नाच्दै रमाईलो वातावरणमा सिकाउनका लागि आवश्यक सिप तालिमले प्रदान गर्ने भएकाले सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

तालिमका प्रशिक्षक दुर्गा गौतमले मन्टेश्वरी शिक्षणको महत्व बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी रामपुर शाखाका शाखा प्रबन्धक गोविन्द प्रसाद भट्टराईले मन्टेश्वरी शिक्षा आजको अनिवार्य आवश्यकता भएकाले नगर भित्रका प्रत्येक विद्यालयमा मन्टेश्वरी विधि बाट शिक्षण हुन पर्नेमा जोड दिनु भयो ।

ब्राइट स्टेप मन्टेश्वरीका प्रिन्सिपल एवं कार्यक्रम संयोजक अनिता भट्टराईको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन ब्राइट स्टेप मन्टेश्वरीका सञ्चालक प्रशान्त आचार्यले गर्नु भएको हो । तालिममा रामपुर क्षेत्रका १९ जनाको सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?