मल लिन बेझाँडको सहकारी बजारमा कृषकहरुको ठेलम ठेल, प्रहरीको सहयोगमा मल वितरण (फोटो फिचर)

पाल्पा, असारको महिना मानो रोपेर मुरी फलाउने समय हो । तर देशैभर मल अभावमा कृषकहरु भौतारिरहेका छन् । खेतीपातीको लागि खेतबारीमा व्यस्त हुनु पर्ने समयमा किसानहरु मलका लागि डिपो र वितरण केन्द्र दैनिक धाईरहेका छन् ।

सिमित मात्रामा मल उपलब्ध भए पनि त्यसका लागि घण्टौं लाईनमा बस्न बाध्य छन् । पाल्पाका माडी तथा अन्य फाँटहरुमा रोपाई सकिए पनि रामपुर फाँटमा भने अधिकांश रोपाई हुन बाँकी छ । रामपुर क्षेत्रमा विषेश गरी नहर सञ्चालन संगै साउनको पहिलो हप्ता रोपाईको माचो हुने गर्दछ ।

रोपाई भएका स्थानमा पनि कृषकहरुले मल राख्न पाएका छैनन् । साथै रोपाई हुन बाँकी स्थानको लागि मल जोहो गर्न कृषकहरु दैनिक मल पाईने स्थानमा पुगिरहेका छन् । तर रित्तो हात लिएर फर्किनु पर्ने बाध्यता छ । मंगलबार रामपुरमा भैरहवा बाट मल आएको जानकारी पाए संगै कृषकहरु आफ्नो कोटा सुरक्षित गर्न सूर्योदय कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याएको सहकारी बजार बुधबार विहानै झरीका विच पुगेका थिए ।

सहकारीले एक जनालाई १० किलोको दरले मल उपलब्ध गराउने खबर पाए संगै सहकारी बजार साढे नौ बजे खुल्ने भए पनि विहान ६ बजे देखि नै लाईनमा बसेका थिए । फागुन महिना देखि युरिया मलको अभावमा बसेका कृषकहरुले आफ्नो कोटा सुरक्षित गर्नका लागि लाईनमै ठेलमठेल गरेका थिए । भिडलाई थाम्न हम्मे हम्मे परेपछि प्रहरी नै परीचालन गरिएको थियो ।

पालैपालो मल वितरण गरिरहे पनि भिडभाड बढेपछि प्रहरीको सहयोग लिएर वितरण गरिएको सूर्योदय कृषि सहकारी संस्थाका व्यवस्थापक सावित्रा शाहीले बताउनुभयो । रासायनी मलको अभाव भए पछि कृषि ज्ञान केन्द्र मार्फत कोटा निर्धारण गरिएको छ । कृषि ज्ञान केन्द्र तानसेनले रामपुर नगरपालिकाको लागि ९ सय ९२ बोरा युरियाको कोटा निर्धारण गरेको छ ।

व्यवस्थापक शाहीका अनुसार फागुन महिना पछि रामपुरमा मंगलबार साल्ट ट्रेडिङ्ग बाट युरिया झरेको हो । उहाँका अनुसार कोटाको बाँकी मल आउने क्रममा रहेको जानकारी दिनुभयो । सहकारीका पूर्व सचिव सूर्य प्रसाद श्रेष्ठले पहिलो पटक आएको मल विहान साढे नौ बाट वितरण गरिएकोमा दिउँसो सम्ममा सकिएको बताउनुभयो । साल्ट ट्रेडिङ्गको आधिकारि विक्रेता सूर्योदय सहकारीले यस अघि प्रतिकिलो २० रुपैयामा युरिया विक्री गर्दै आएकोमा यस पटक ढुवानी भाडा बढेकाले प्रति केजी २१ रुपैयामा मल वितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?