रामपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

पाल्पा, पाल्पाको रामपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । नगर भित्र रहेका १६ देखि २३ महिना सम्मका शतप्रतिशत बालबालिकाहरुले पूर्ण मात्रा खोप लगाए संगै स्वास्थ्य कार्यालय पाल्पाले पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हो ।

रामपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वस्थ्य स्वंसेविका र सरोकारवालाहरुको उपस्थितिमा आज पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खनालले स्वस्थ्य नहुँदा सम्म भौतिक संरचना निर्माणले मात्र विकास नहुने बताउनुभयो । उहाँले रोग बाट बचाउने आधार खोप भएको भन्दै स्वस्थ्यका लागि आनीबानीमा पनि परिवर्तन ल्याउनु पर्ने बताउनुभयो । समन्वय समितिलाई संविधानले संघ, प्रदेश र पालिका विचको सम्बन्ध कायम गर्ने अधिकार दिएको बताउँदै रामपुर नगरको विकासको लागि समन्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले खोपले बाल मृत्युदर न्यूनीकरणको लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै पूर्ण खोप सुनिश्चिततालाई निरन्तर कायम गर्दै अघि बढ्न आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बालबालिकाहरुलाई पूर्ण खोप दिनको लागि अहोरात्र खट्ने स्वस्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेविकाहरलाई धन्यवाद दिदै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । नगर भित्र रहेका १६ वटा स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित बनाउन भवन निर्माण संगै आवश्यक उपकरणका लागि पहल गर्दै आएको जानकारी दिनुभयो । उहाँले पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिई बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । स्वस्थ्यकर्मीहरु लागि सक्रिय भएर लाग्न अनुरोध गर्दै आवश्यक व्यवस्था मिलाउने बताउनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरीले सरकारले १२ वटा खोप दिदै आएकोमा आगामी वर्ष बाट टाईफाईड विरुद्धको खोप पनि दिन लागेको जानकारी दिनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले नगरपालिकाले स्वास्थ्य क्षेत्रको लागि आवश्यक सहयोग गर्ने बताउँदै, सरकारी स्वास्थ्य संस्था प्रतिको जनतालाई विश्वास दिलाउने गरी काम गर्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो । गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले १६ देखि २३ महिना सम्मका बालबालिकाहरुको लाईन लिष्टिङ्ग गर्दा ५ सय १ जनाले पूर्ण मात्रा खोप लिएको र ४ जनाको छुटेको पाईएको जानकारी दिनुभयो ।

छुटेकाहरुलाई पूर्ण मात्राको खोप दिई बैशाख २३ देखि असार ८ सम्ममा वडाहरुलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताउनुभयो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम गाँडाकोट स्वास्थ्य चौकी प्रमुख मजिबुर शेखको स्वागत र स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको सञ्चालनमा भएको हो । कार्यक्रमको अवसरमा लामो समय देखि महिला स्वस्स्थ्य स्वंसेविका भएर काम गरी उमेर हदका कारण अवकास प्राप्त निरमाया थापा र हरिमाया भट्टराईलाई स्वास्थ्य कार्यालय पाल्पा र रामपुर नगरपालिकाले नगद सहित प्रमाण पत्रका साथ सम्मान गरेको थियो । साथै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखलाई रामपुर नगरपालिकाको तर्फ बाट स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?