रामपुर फाँट सिंचाईको नहर बुधबार देखि सञ्चालनमा आउने

पाल्पा, रामपुर फाँट सिंचाई आयोजनाको नहर बुधबार देखि सञ्चालनमा आउने भएको छ । रामपुर नगरपालिका–३, ओईरेघाट भन्दा केहीपर ठाडीमा पहिरो खसे पछि गत असार २५ गते देखि नहर अवरुद्ध भएको थियो ।

अविरल वर्षाद संगै गत असार २५ गते खसेको पहिरोले नहर पुरिए पछि नहरको पानी बाट सिंचाई गर्दै आएका कृषकहरुले रोपाई गर्न पाएका थिएनन् । रामपुर फाँट सिंचाई आयोजना जलउपभोक्ता समितिका कोषाध्यक्ष मधु पाठकले डोजर लगाएर पहिरो हटाउनुका साथै पहिरो रोक्नका लागि काम भए संगै बुधबार बाट नहर सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो । माथिल्लो भाग बाट झण्डै १ सय ५० मिटर लम्बाई र ४८ मिटर चौडाईको पहिरो खसेपछि नहर पुरिएको थियो भने थुनिएर केही भाग पानीले भत्किएको थियो ।

मंगलबार मर्मत कार्य सकिए संगै बुधबार विहान पानी छाड्ने तयारी भएको र ढिलोमा विहान १० बजे देखि पानी सञ्चालन हुने रामपुर फाँट सिंचाई जलउपभोक्ता समितिले जनाएको छ । नहरको अन्य स्थानमा भने केही समस्या नभएको कोषाध्यक्ष पाठकका अनुसार पहिरो रोक्नको लागी माथिल्लो भागमा २० थान जाली भरिएको छ भने पुर्न नदिनको लागि नहरलाई छोप्न जाली राखिएको छ । साथै मंगलबार झण्डै ३ सय २५ उपभोक्ता नहर सञ्चालनको लागि श्रमदान गर्न पुगेका थिए । साथै इलाका प्रहरी कार्यालय रामपुर बाट प्रहरी समेत खटिएको थियो । रामपुरको कृषिको लागि मुख्य आधारको रुपमा रहेको रामपुर फाँट सिंचाईको नहर बाट रामपुर ३, ४, ५, ६ र ७ नं. वडाको ७ सय ७० हेक्टर जमिन सिंचाई हुँदै आएको छ ।

नहर सञ्चालन संगै रामपुर क्षेत्रको बाँकी भागमा रोपाई हुनेछ । रामपुर क्षेत्रमा असार अन्तिम र साउनको पहिलो हप्तामा रोपाई हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?