पाल्पा, जिल्लामा थप ६ हजार ६ सय ७० मतदाता थपिएका छन् । असार १ गते देखि साउन १९ गते सम्ममा सञ्चालन भएको फोटो सहितको मतदाता नामावली संकलनमा नयाँ मतदाताहरुले नामावलीमा नाम दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय रामपुरबाट फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो । फोटोसहितको मतदाता नामावलीमा साढे ६ हजार बढी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताउनुभयो ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेका थिए । अहिले थपिएर २ लाख ६ हजार ३ सय ६० मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत अर्यालले बताउनुभयो । उहाँका अनुसार ३ हजार १ सय ४० महिला र ३ हजार ५ सय ३० पुरुष थपिएका छन् ।
सरकारले आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य २० गतेदेखि स्थगित गरेको थियो । स्थानीय तह निर्वाचनसम्म करिब १० हजार मतदाताहरुको १८ वर्ष उमेर नपुगेका कारण अन्तिम मतदाताको सूचीमा नाम समावेश भएको थिएन । त्यसमध्ये १८ वर्ष उमेर पुगी अन्तिम मतदाताको सूचीमा कायम हुनेछ ।
यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १३ मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकले आयोगबाट तोकिएको समय सीमामा थप समय उपलब्ध गराउन निर्वाचन आयोगसमक्ष आग्रह गरिएको छ ।