रामपुरमा शनिबार निकालियो गाईजात्रा ! (फोटोफिचर)

पाल्पा, यस वर्ष अधिकांश स्थानमा तिथीको कारण शुक्रबार नै गाईजात्रा लिकालिए पनि पाल्पाको रामपुरमा भने शनिबार गाईजात्रा निकालिएको छ । यस वर्ष जनैपूर्णिमा र प्रतिपदा एकै दिन परेकाले तानसेन लगाएत विभिन्न स्थानमा गाईजात्रा निकालिएको थियो ।

रामपुरमा भने जनैपूर्णिमा मनाएको भोलि पल्ट जात्रा निकालिने प्रचलन अनुसार शुक्रबार साईत निकालेर शनिबार जात्रा निकालिएको नेवा : समाज रामपुरले जनाएको छ । यस वर्ष दिवंगत भएका घर बाट आफन्तहरुले गाईजात्रा निकालेका थिए । रामपुर क्षेत्रका विभिन्न स्थानमा बाट निकालिएको गाईजात्रा बेझाँड बजार परिक्रमा पछि चोकमा प्रदर्शन गरिएको थियो ।

गाईको रुपमा सिँगारेर आफन्त र शुभचिन्तकहरूको उल्लेख्य सहभागितामा जात्रा निकालिएको थियो। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि ८ दिनसम्म यो पर्व मनाइन्छ । ऐतिहासिक कथनअनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए । तर, यसले पनि रानीको मन शान्त नभएपछि विभिन्न खालका व्यंग्यात्मक कार्यक्रम पनि गर्न आदेश दिएका थिए। सोही आदेश अनुसार सुरु भएको गाईजात्रा अहिले पनि चलिआएको छ ।

गाईजात्राको दिन एक वर्षभित्र दिवंगत भएका आफ्ना आफन्तको सम्झनामा नाचगान तथा रामायणको करुण रसका गीतहरू गाउँदै, गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्नो नगर परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्य अन्न र पैसा दान गर्ने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?