रामपुरमा रोपाई जात्रा ! (फोटो फिचर)

पाल्पा, दुई किशोर आइतबार जुवामा नारिएर बेझाँडको स्कुलरोडको सडकमा निस्किए । खोक सहित जुवामा नारिएका किशोरलाई अर्का किशोरले खेड्दै थिए । बाउसेको भेषमा केही खेतका गह्रा मिलाउँदै थिए त केही विउ बोकेर अघि बढ्दै । उनीहरुको पछि पछि महिलाको भेषमा सजिएका किशोर तथा नेवारी पोशाकमा सजिएका किशारीहरु पञ्चे बाजाको तालमा धानको विउ रोप्दै ।

यो दृश्य वास्तविक रोपाईको नभै पाल्पाको रामपुरमा निकालिएको रोपाई जात्राको हो । गाईजात्राको भोलिपल्ट नेवारी समुदायले निकाल्ने रोपाई जात्रा आइतबार रामपुरमा भव्यताका साथ मनाईएको छ । नेवाः समाज रामपुरले सदियौं देखि चल्दै आएको जात्राको निरन्तरता अन्तर्गत जात्रा निकालिएको हो । यस वर्ष जनैपूर्णिमा र प्रतिपदा एकै पटक परेकाले अन्य स्थानमा २७ गते नै गाईजात्रा निकालेर शनिबार रोपाई जात्रा निकालिएको थियो । तर रामपुरमा भने पूर्णिमाको दिन गाईजात्राको साईत निकालेर शनिबार गाईजात्रा निकालिएको थियो । सोही अनुसार गाईजात्रा निकालेको भोलिपल्ट आज रोपाई जात्रा निकालिएको हो ।

स्कुलरोड बाट शुभाराम्भ गरिएको रोपाई जात्रा बेझाँड चोकमा ल्याएर दिनभर प्रदर्शन गरिएको थियो । जात्रामा रामपुर क्षेत्रका किशोर, किशोरीहरुको सहभागीता रहेको थियो । गोलो आकार बनाएर उनीहरुले धानको वीउको रुपमा सिरुको प्रयोग गरी पञ्चे बाजाको धुनमा धान रोपेको अभिनय गरेका थिए । उनीहरुलाई समुदायका पाका पुस्ताले सहयोग गरेका थिए । नेवाः समाज रामपुरका सल्लाहाकार राजु प्रसाद श्रेष्ठले गाईजात्राको भोलिपल्ट निकालिने जात्रालाई अनवरत रुपमा निरन्तरता दिदै आएको बताउनुभयो । ऐतिहासिक कथनअनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए । सोही अनुसार गाईजात्रा तथा अन्य जात्राहरु निकालिदै आएको छ । जात्रा यस क्षेत्रमा कहिले बाट सुरु भयो भन्ने एकिन नभए पनि पूर्खाहरु देखि नै आफ्नो संस्कृति अनुसार गाईजात्रा, रोपाई जात्रा र लाखे नाच प्रदर्शन गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो ।

नेवाः समाज रामपुरकाअध्यक्ष बाबुराम श्रेष्ठले सदियौं देखि चल्दै आएको जात्रालाई व्यवस्थित बनाउँदै गलत परम्परालाई त्यागेर समाज संकृतिको संरक्षणमा अघि बढेको बताउनुभयो । यस अघि उमेर पुगेका युवाहरुको रोपाई जात्रामा बढी सहभागीता रहे पनि पछिल्ला पुस्ताहरुमा पनि हस्तान्तरण गर्नु पर्छ भन्ने मान्यताका साथ भर्खरका किशोरहरुलाई पनि सहभागी गराईएको श्रेष्ठले जानकारी गराउनुभयो । किशोरहरुलाई मात्र महिला भेषमा रोपाई जात्रामा प्रस्तुत गर्दै आए पनि पछिल्लो समय किशोरीहरुलाई पनि समावेश गर्दै आएको छ । विशेष गरि नेवाः समुदायले मनाउन सुरु गरेको रोपाइँ जात्रा देशैभर सबैको उत्सव बनेको छ । जात्रा अवलोकनका लागि सयौंको संख्यामा उल्लेख्य सहभागीता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?