सहचालकलाई कुटपिट गर्न ट्रकमा चढ्ने क्रममा खसेर जरेपिपलमा एक युवकको मृत्यु

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डको तानसेन ८ जरेपिपलमा ट्रकमा चढ्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन ८ जरेपिपलका २५ वर्षिय विक्रम श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार जन्मदिन मनाई मापसे गरेर विक्रम लगाएत उनका ३/४ जना साथीहरु राती सडकमा सुतिरहेका थिए । गय राति साढे १२ बजे बुटवल बाट तानसेन तर्फ आईरहेको ग १ ख १०१५ नम्बरको ट्रकले बाटो छाड्नको लागि हर्न बजाउने क्रममा उनीहरु उठेर सहचालकलाई कुटपिट गर्न ट्रकमा चढ्ने प्रयास गरेका थिए । सोही क्रममा ट्रक बाट लड्न गई विक्रम घाईते भएका थिए ।

घाईते विक्रमलाई उपचारको लुम्बिनी मेडिकल कलेज प्रभास ल्याईएकोमा उनको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरिक्षक गौतम बोहोराले जानकारी दिनुभयो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?