रामपुरमा एकिकृत व्यवसाय दर्ता शिविर सम्पन्न

पाल्पा, रामपुरमा २ दिने एकिकृत व्यवसाय दर्ता शिविर सम्पन्न भएको छ । जिल्लाका पूर्वी भेगका व्यवसायी तथा संघ संस्थाहरुको सहजताको लागि रामपुर उद्योग वाणिज्य संघको आयोजना, घरेलु तथा साना उद्योग कार्यालय तानसेन र करदाता सेवा कार्यालय तानसेनको समन्यव र रामपुर नगरपालिकाको सहयोगमा शुक्रबार देखि शिविर सञ्चालन भएको थियो ।

शिविरमा घरेलु तथा साना उद्योग कार्यालय र करदाता सेवा कार्यालय बाट प्रदान गरिने सम्पूर्ण सेवा एकै स्थान बाट प्रदान गरिएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । शिविर बाट १ सय ६० जना भन्दा बढीले सेवा लिएको ढकालले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय अन्तर्गत उद्योग, व्यवसाय दर्ता, उद्योग व्यवसाय खारेज, व्यवसाय नविकरण, अन्य संशोधन गरी १ सय २३ जनाले सेवा लिएका थिए । त्यस्तै करदाता सेवा कार्यलय अन्तर्गत सरकारी कार्यालय, सार्वजनिक विद्यालयहरु र संघ संस्थाहरुलाई संस्थागत स्थायी लेखा नं., उद्योग तथा व्यवसायको स्थायी लेखा नं., व्यक्तिगत स्थायी लेखा नं., अन्त शुल्कको इजाजत पत्र, करचुक्ताको प्रमाण पत्र प्रदान लगाएतका सेवा प्रदान गरिएको थियो ।

साथै शिविरमा करदाता सेवा कार्यालय तानसेनका कर अधिकृत गीता पाण्डे र घरेलु तथा साना उद्योग कार्यालय तानसेनका उद्योग अधिकृत देवीराम भण्डारी सहितको टोलीले उद्योग व्यवसाय दर्ता र कर सम्बन्धी परामर्श प्रदान गर्नु भएको थियो । शिविर रामपुर उद्योग वाणिज्य संघको कार्यालय बेझाँड नहर अफिसमा भएको थियो । रामपुर उद्योग वाणिज्य संघले घरेलु र कर कार्यालयको समन्वयमा उद्योगी तथा व्यवसायीहरुलाई दर्ता प्रमाण पत्र, स्थायी लेखा नं. तथा व्यक्तिगत लेखा नं., कर चुक्ताको प्रमाण पत्र प्रदानको लागि नियमित रुपमा सहजिकरण गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?