पाल्पा, अघि अघि राक्षसको स्वरूप, झ्याप्प परेको बाक्लो कपाल सहितको मखुण्डो सहित कालिकाको वस्त्रले सिंगारिएको लाखे साथमा सिपाहिका प्रतीकका रूपमा काला, सेता र अन्य रङ्गका मुखुण्डो लगाएका हास्य पात्र जोगिया, पछि पछि जिउनै थर्किने गरी बजाईएका ढोलक, झ्याम्टाको आवाजले गुन्जायमान बजार ।
शनिबार पाल्पा रामपुरको मुख्य बजारमा देखिएको दृश्य हो यो । नेवाः समाज रामपुरले आयोजना गरेको बृहत लाखेनाच प्रदर्शनीको अवसरमा बेझाँड बजार ढोलक र झ्याम्टा आवाजले कोलाहल बनेको थियो । नेवारी संस्कृतिमा आधारित मौलिक लाखे नाचको संरक्षण संगै प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको १२ औं लाखे नाच पदर्शनीमा एकै पटक २३ समुहको लाखे निकालिएको थियो ।

कोरोना महामारी पछि भएको प्रदर्शनीमा गण्डकी बेशी क्षेत्रका हजारौं मानिस प्रदर्शनीमा उपस्थित भएका थिए । जात्रा, उत्सव, चाडपर्व, मेलाको अवसरमा निकालिएको लाखेको प्रदर्शनीमा सहभागीहरुको घुईचो लागेको थियो । पौराणिक किंवदन्तीका अनुसार कृष्णलाई मार्नका लागि कंशले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने प्रचलन रहेको छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा रहेको छ ।
नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले मौलिक लाखे नाचको संरक्षण संगै प्रवद्र्धन संगै नयाँ पुस्तालाई जानकारी दिनका लागि पदर्शनी गर्दै आएको जानकारी दिनुभयो । विगतको वर्षको तुलनामा यस वर्ष प्रदर्शनीमा निकै उत्साहजनक सहभागीता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेवार सामुदायको कला, संस्कृतिको जर्गेर्ना गर्ने हेतुले सञ्चालन गर्दै आएको कार्यक्रम २ वर्ष कोरोना महामारीका कारण स्थगित भएकोमा यस वर्ष बाट पुन निरन्तरता दिन लागिएको हो । विभिन्न सहभागीहरुको उत्साहले थप उर्जा प्रदान गरेको छ ।” नेवाःसमाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमले स्थान विशेष फरक फरक ताल र शैलीमा देखाउने अवसर समेत जुराएको छ । प्रदर्शनीमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी लगाएतका २३ समुहको सहभागीता रहेको नेवाः समाज रामपुरका सचिव विमल श्रेष्ठले जानकारी दिनुभयो । लाखे नाच पछिल्लो समय नेवार समुदाय संगै अन्य जाति र समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको छ । लाखेनाच सहित बेझाँड बजार परिक्रमा पश्चात रामपुर नगरपालिकाको परिसर अगाडी पालै पालो प्रदर्शन गरिएको थियो ।
प्रदर्शनीको अवसरमा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश सांसद युवराज खनालले आधुनिकता संगै कला संस्कृतिको पुस्तान्तरण हुन नसक्दा कतिपय संस्कृत लोप हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले नेपाल बहु भाषि , बहु धर्म बहु संस्कृतिको देश भएको बताउदै संस्कृतिको संरक्षणका लागी हरेक समुदाय लाग्नु पर्ने बताउनुभयो । उहाँले नेवार समुदायमा प्रचलित लाखे नाच रामपुरमा बृहत रुपमा प्रर्दशन गर्दै आएकोमा यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेवाः समाज रामपुरका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार राजु प्रसाद श्रेष्ठले संकृतिको जगेर्नाको लागि युवा पुस्ता सक्रिय हुनु आवश्यक रहेको बताउनुभयो । समाजसेवी एवं नेपाली कांग्रेस महासमिति सदस्य सन्दिप रानाले मौलिक कला र संस्कृति हाम्रो सम्पदा रहेको भन्दै समाजले चालेको कदमको प्रशंसा गर्नुभयो । रामपुर उधोग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले गण्डकी बेशी क्षेत्रको मौलिक संस्कृतिको प्रचारप्रसारको लागि रामपुर उद्योग वाणिज्य संघले पनि जोड दिदै आएको बताउनुभयो । रोटरी क्लव अफ रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले प्रदर्शनी कार्यक्रमले मौलिक संस्कृतिको शैली आदन प्रदान संगै भाईचाराको सम्बन्ध कायममा टेवा दिने बताउनुभयो ।
नेवाः समाज रामपुरले कार्यक्रमको अवसरमा जेष्ठ नागरिक ८३ बर्षिय टेक बहादुर श्रेष्ठ र ८१ वर्षिय टीका माया श्रेष्ठलाई दोसल्ला ओढाइ सम्मानपत्र सहित सम्मान गरेकाे थियो ।
नेवा समाज रामपुर पाल्पाका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष राज कुमार श्रेष्ठको स्वागत र सचिव विमल श्रेष्ठको संचालनमा भएको सम्पन्न भएको हो ।