पाल्पा, रामपुर नगरपालिका ७ किसानबारी पाल्पामा असोज १२ देखि १५ गते सम्म वडा स्तरीय खुल्ला भलिबल तथा व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । सामाजिक कार्य संगै खेलकुदको विकासमा सक्रिय ज्योतिपुञ्ज युवा क्लव रामपुुर नगरपालिका ७ किसानबारीले आफ्नो २६ औं वार्षिक उत्सव तथा विजयादशमीको अवसरमा असोज १२ गते देखि १५ गते सम्म प्रतियोगिता गर्न लागेको हो ।
क्लवले सोमबार किसानबारीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको थियो । वर्षिक उत्सवको अवसरमा क्लवले स्थानीय स्तरमा रहेका खेल प्रतिभाको उजागरका लागि प्रतियोगिताको आयोजना संगै रक्तदान कार्यक्रमको पनि आयोजना गरेको क्वलका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । २०५३ सालमा क्लव स्थापना पश्चात क्लवले गरेका कार्यहरुको बारेमा जानकारी दिदै गौतमले कोभिड पछि अहिले पुनः खेलकुदलाई निरन्तरता दिन लागेको बताउनुभयो । उहाँका अनुसार वडा स्तरिय खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितिय हुनेले ३० हजार र तृतिय हुनेले १५ हजार नगदा सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

त्यस्तै व्यटमिन्टन प्रतियोगितामा भने रामपुर नगरपालिका, चापाकोट नगरपालिका, बौदीकाली गाउँपालिका, निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिकाका खेलाडीले मात्र सहभागीता जनाउन पाउने छ । प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार सहित कप मेडल र प्रमाण पत्र पाउनेछ । क्लवले पौढहरुको लागि लक्ष्यित गरी भेट्रान्स व्यटमिन्टन प्रतियोगिता आयोजना गरेको छ । ४५ वर्ष माथिकाले मात्र सहभागीता जनाउन पाउने प्रतियोगिताको विजेताले ५ र उपविजेताले ३ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भलिबल खेल संयोजक शुद्याम्सु हमालका अनुसार दर्ताको लागि आजै देखि असोज ११ गते साँझ ६ बजे सम्म खुल्ला रहेको जानकारी दिदै १२ गते विहान ७ बजे देखि प्रतियोगिता हुनेछ ।
पत्रकार सम्मेलनमा पत्रकार संगै पुरस्कार प्रयोजक, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, क्लवका पदाधिकारी, सल्लाहाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य एवं भलिबल प्रतियोगिताका द्वितिय पुरस्कार प्रयोजक राजु प्रसाद श्रेष्ठले ज्योतिपुञ्ज युवा क्लव यस क्षेत्रका युवा क्लवहरुको अभिभावक संस्था भएको बताउँदै स्थापनाकाल देखि क्लवले गरेका कामको प्रशंसा गर्नु भयो । क्लवहरु खेलकुद मात्र नभई सामाजिक कार्यमा सक्रिय हुनु पर्छ भन्ने उदाहरण ज्योतिपुञ्जले प्रस्तुत गरेको भन्दै श्रेष्ठले अन्तराष्ट्रिय क्लवहरु स्थानीय क्लव संग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले ज्योतिपुञ्जले रामपुरको विकास र समाजमा दिएको योगदान निकै महत्वपूर्ण रहेको भन्दै प्रतियोगिताको लागि वडा र रामपुर नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । क्लवले १५ गते नेपाल रेडक्रस सोसाईटी रामपुरको समन्वयमा रत्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । क्लवका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रम सचिव गोपाल परियारको स्वागत र सल्लाहाकार हरि बहादुर ज्ञावलीको सञ्चालनमा भएको हो ।