१७ वटा बढी बाजाको धुन भर्छन् ६१ वर्षिय ढकाल, भन्छन् संगित कै साहारामा क्यान्सरलाई जिते !

पाल्पा, मेला महोत्सव होस् या महायज्ञ । गाउँघरका भजन कृतन होस्, सांस्कृतिक कार्यक्रम । वाद्यवादनकाे समूह सहित पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी लगाएतका विभिन्न ठाउँ भेटिने नाम हो टिकाराम ढकाल ।

परम्परागत बाजा मादल, बाँसुरी, सारङ्गी, खैजडी, मुर्चुङ्गा, मोहली देखि आधुनिकमा हार्मोनियम, किबोर्ड देखि अक्टोप्याड लगाएत १७ भन्दा बढी बाजामा सुर भर्न सिपालु रामपुर नगरपालिका ६ प्याकलुकका ६१ वर्षिय ढकाल वाद्यवादन टोली संगै कार्यक्रमहरुमा भेटिनुहुन्छ । संगितको तालमा आफ्नो उमेर ढल्किएको उहाँलाई अझै पत्तो छैन । फुर्सदको समय बाँसुरी, सारङ्गी, मादल, हार्मोनियम, मोहोली, मुर्चुङ्गा तथा अाधुनिक लगायत दर्जन बढी वाद्यवादनका सामानले भरिएका घरको बाजा कोठा मै उहाँ १६ वर्षे जवानीको जोशिलो पारामा सङ्गीतको तालमा डुबुल्कु मार्नुहुन्छ ।

घरमा भएको समय घर वरपरको वातावरण बिहान होस् या दिउँसो वा साँझ नै किन नहोस्, बाजाको धुनहरुले गुञ्जयमान रहन्छ । उहाँको दैनिकी वाद्यवादनमा बित्ने गरेको छ । कार्यक्रम, मेला, उत्सवहरु नभएको समय कोठामा सजाएर राखिएका थरिथरिका बाजा बजाएर जीवन व्यतीत गरिहनुभएको छ । “उमेरले छ दशक नाघिसकेछ तर सङ्गीतले १६ वर्षे ठिटो छु जस्तो बनायो, बाजा बजाउन भनेपछि मनभित्रै देखि नै निकै जोशिलोपन बढेर आउँछ, बुढ्यौली टेके जस्तो लाग्दैन”, उहाँले भन्नुभयो, “सङ्गीतमा रमाएर बाँच्ने नै मेरो सङ्कल्प हो त्यसरी नै बाँचिरहेको छु,, एउटा नशा जस्तै बनेको छ ।”

घरमा बुबा बाट बाँसुरी बजाउने प्रेरणा पाएपछि १३ वर्षको उमेरदेखि नै वाद्यवादनमा लाग्नुभएका ढकालले १७ थरिका बढी बाजा बजाउनुहुन्छ । आफूले बजाउने सबै बाजा घरमा किनेर राख्नुभएको छ । पुराना बाजाहरु पात, बाँसुरी, खैजडी, मुजुरा, मादल, मुर्चुङ्गा, पात, छ्याइछ्याइ, सहनाई, ठूलो झ्याली, शङ्ख, डमरु, सारङ्गी, मोहोली देखि आधुनिक बजाहरु माउथ हार्मोनियम, हार्मोनियम, किबोर्ड, अक्टोप्याड, लगायतका बाजा बजाउन सिपालु हुनुहुन्छ ।

बिहान उठेदेखि नै साँझसम्म बाजासँगै दैनिकी बितेको छ । करिब तीन लाख बढीका वाद्यवादनका सामग्री खरिद गर्नुभएको छ । नयाँ बाजा देख्ने बित्तिकै झिकाउने र घरमा आफैले सिक्ने गर्नुहुन्छ । बाजा सम्बन्धी अध्ययन गरेको व्यक्ति सरह उहाँले आफ्नै प्रयासमा सिक्दै अाउनु भएको छ । उहाँले पुराना बाजा मात्रै नभई बजारमा आएका आधुनिक खालका बाजा पनि मज्जाले बजाउने गर्नुहुन्छ । लोपोन्मुख अवस्थामा रहेको पुरानो बाजा मोहोली र मुर्चङ्गा घरको दराजमा संरक्षण गरेर राख्नुभएको छ । विशेष गरी बाँसुरी, खैजडी, मुजुरा, हार्मोनियम, सारङ्गी, अक्टोप्याड लगायतका बाजा बढी बजाउन मन पराउनुहुन्छ ।

“औपचारिक रुपमा कला संस्कृति सिक्ने चाहना थियो तर त्यस समयमा वातावरण बनेन्, राष्ट्रियस्तर सम्म पुगेको भए एक खालको राष्ट्रिय कलाकारको उपाधि बन्थ्यो, तै पनि स्थानीयस्तरमा नै वाद्यवादनमा भिजेको छु, यसमै सन्तुष्टी मिलेको छ, मेरो कलालाई राष्ट्रियस्तरका कलाकारले पनि चिनेर घरमा बेला–बेलामा आउने गर्नुहुन्छ ।”

मानिसका जीवनका दुःख र पीडालाई भुल्न संगित अतिआवश्यक रहेको उहाँ बताउनुहुन्छ । १६ वर्ष अघि ब्लड क्यान्सर रोगले ग्रस्त हुनु भएको उहाँले नियमित उपचारसँगै घरमै बाजाहरु संगै रमाउनाले उपचारमा राहत मिलेको बताउनुभयो । करिब १६ वर्ष अघि क्यान्सर रोगले आक्रमण गरेपछि नेपाल तथा भारतका विभिन्न अस्पतालमा नियमित उपचार गर्दै अाउनुभयो । अस्पतालको बसाई, नियमित अौषधी सेवन पछि दुई वर्ष यता अौषधी सेवन गर्नु नपरेको अनुभव सुनाउनुभयो ।

करिब १४ वर्षसम्म रोगसँग जुध्नुभएका ढकालले घरको कोठामा बसेर दिनभर विभिन्न थरिका बाजा बजाउने गर्दा आफ्नो शरीरको करिब २५ प्रतिशत रोग निको हुँदै गएको अनुभूति सुनाउनुभयो । अस्पतालको उपचार, परिवारको साथ स्याहार संगै संगितले पनि निको गराउन सहयोग गरेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “बाजा बजाउँदै गर्दा रोगको पीडा कम भएको महसुस भयो, जीवनलाई भुलाउने माध्यम भनेको संगित रहेछ, जीवनको अन्तिम समयसम्म पनि यसरी नै वाद्यवादनमा नै रमाउनेछु, यसमै जीवन व्यतीत भइरहेको छ ।” रामपुर भजनकीर्तन मण्डलीका अध्यक्षसमेत रहनुभएका ढकालले संस्थालाई व्यवस्थित गरी यस क्षेत्रमा वाद्यवादनमा रुचि जगाउने र सिक्न चाहनेलाई संगित सिकाउने लक्ष्यका साथ सामाजिक कार्यमा उहाँ सक्रिय भएर लाग्नुभएको छ । अहिले यस क्षेत्रमा युवा उहाँकै कलाबाट प्रभावित भएर विभिन्न थरिका बाजा बजाउने र भजनकीर्तनमा सहभागी हुने गरेका छन् ।

संगित अपार चिज हो, जतिसुकै मानिस पढेर विद्वान् भए पनि जीवन जिउने यो अति आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँ समूहमा गाउँघरमा हुने धार्मिक तथा शुभकार्य, विभिन्न सभा समारोह, मेला महोत्सव, सांस्कृतिकलगायतका विभिन्न कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ, रुपन्देही, गुल्मी, कास्की, नवलपरासी, गोरखा, लमजुङ, बाग्लुङ, महेन्द्रनगर, सुर्खेत, काठमाडौँ, चितवनलगायतका विभिन्न जिल्लामा वाद्यवादनका निम्ति उहाँ पुग्नुभएको छ ।

पुराना मौलिक बाजा बजाउने कलाकार संग सरकार तथा सरोकारवालाले छलफल गरि कार्यक्रम सञ्चालन गरेमा लोक संस्कृति र मौलिक बाजाको संरक्षणमा हुने उहाँको भनाई छ । तर कला संस्कृति संरक्षणमा नागरिकले अनुभूति हुने खालको काम नगरेकोमा भने उहाँ चिन्तित हुनुहुन्छ । घरमा युवा वाद्यवादन सिक्न बेला–बेलामा आउने गरेकाले आफूमा भएको कला, संस्कृति नयाँ पुस्तालाई सिकाउने र हस्तान्तरण गर्ने उहाँको इच्छा छ । सङ्गीत जीवन जिउने एउटा शक्ति मात्रै नभई यसको मीठो ध्वनिले पारिवारिक वातावरण रमाइलो र खुसी बनाएको बताउनुहुन्छ, उहाँका श्रीमती विष्णुमाया ढकाल ।

“मैले जाने बुझेदेखि नै वाद्यवादनमा बढी सौखिन हुनुहुन्छ, घरपरिवारको कुनै तनाव छैन, सबै जिम्मेवारी मैले सम्हालेको छु, उहाँको दैनिकी वाद्यवादनमा नै बितिरहेको छ”, उहाँले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?