पैसा बुझाएको १५ वर्षपछि मित्यालको लामेदमारमा बल्यो बिजुली

स्वीच थिचेर निस्दी–४,लामेदमारमा विद्युतीकरणको उट्घाटन गर्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु            तस्वीर सभारः– परेवा अनलाईन बाट

पाल्पा, लामो समय देखि विद्युतको पर्खाइमा रहेका निस्दी गाउँपालिका–४ मित्यालको लामेदमारका स्थानीयले सोमबार देखि विजुली बाल्न पाएका छन् । लालीगुराँस सामुदायिक विद्युतिकरण सहकारीलाई विद्युतको लागि पैसा बुझाएको १५ वर्षपछि बल्ल सुविधा उपभोग गर्न पाएका हुन् ।

लामेदमारमा रहेको ट्रान्समिटर अन्तर्गतका ५५ घर परिवारको बत्ती जडान भएको छ । पैसा बुझाए पनि विद्युतको प्रतिक्षा गर्दागर्दा आश मारेका स्थानीयहरुलाई अहिले सपना जस्तै भएको छ । स्थानीय लिल बहादुर आलेले भन्नुभयो, “अब त बत्ती बलेको देख्ने आश मरिसकेको थिएँ, तर अहिले सपना झै लागेको छ ।” लामो समयको पर्खाइमा बत्ती बाल्न पाएपछि ठूलो राहत महशुस गर्नुका साथै स्थानीयहरु खुशी भएको जीवन ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र सिंह आलेले बताउनुभयो ।

लामेदमार ट्रान्समिटर अन्तर्गत मित्याल ४ को लामेदमार, बेलखरक, गोठडाँडा, खोर्मोक, रिपाहा, पोखरादहर, थोक्सिङबास गाउँका करिब १ सय घरमा बत्ती बल्नुपर्नेमा केही टोलमा वयरिङ्गको काम नसकेकोले एकै चरणमा बत्ती बल्न नपाएको कार्यपालिका सदस्य हेम कुमारी सुनारीले बताउनुभयो ।

लालीगुँरास सामुदायिक विधुतिकरण अन्तर्गत लामेदमार ट्रान्समिटरको उट्घाटन गर्दै निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बत्ती बल्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिनुभयो । साथै सारुले निस्दीमा विद्युतको काम कछुवाको गतिमा भएको स्वीकार्दै सबैको सहयोग र सहकार्यको निरन्तर खाँचो रहने बताउनुभयो ।
निस्दीको वडा नं. ३, ४, ५, ६ र ७ गरी ५ वटा वडामा विद्युत बल्ने जिम्मा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्था गल्धाले लिएको थियो । विद्युतीकरणको लागि सहकारीले २०६३/०६४ साल देखि २ हजार ६ सय परिवार बाट प्रत्येक घर बाट रकम संकलन सुरु गरेको थियो । त्यस पश्चात २ वर्ष भित्र विद्यतीकरणको काम सम्पन्न गर्ने गरी २०७१ मा ठेक्का दिएको थियो ।

केही स्थानहरुमा आजभन्दा ४ वर्ष अगाडि बत्ती बलिसकेको छ । भने कति ठाउँमा लाइन त धेरै परको कुरा, खम्बा समेत पुर्याउन सकेको छैन । लाईन पुगेका स्थानमा पनि स्थानीयले कहिले कमविजुली आउने समस्या झेल्दै आएका छन् । निस्दीमा सामुदायिक विद्युतीकरणको काम ढिलो भएकोमा यहाँका युवाहरूले सामाजिक सञ्जाल मार्फत व्यापक रुपमा खबरदारी गर्दै आएको छ । तर सामुदायिक विद्युतीकरणका लागि पैसा बुझाएका स्थानीयहरु अझै पनि टुकीकै सहारामा कष्टकर जीवन बिताउन बाध्य छन् । निस्दीको ७ वटा वडामध्ये वडा नं. ७ को केही स्थान र वडा नं. १ र २ मा सामुदायिक विद्युतीकरणले समेटेको छैन । बाँकी ५ वटा वडामा विस्तारको काम भइरहेको सहकारी संस्थाका अध्यक्ष दुर्गा बहादुर सोमैले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?