पाल्पाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधीश विष्ट र निर्वाचन अधिकृतमा ढकाल नियुक्त

पाल्पा, निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि पाल्पाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधीश कमलराज विष्टलाई नियुक्त गरेको छ । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा मुख्य निर्वाचन अधिकृत संगै निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको जिम्मेवारी पनि विष्टलाई प्रदान गरिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन अधिकृत जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता गोपाल प्रसाद ढकाललाई नियुक्त गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । निर्वाचनमा सम्पन्न गर्नुपर्ने काम गर्न÷ गराउनका लागि बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

आयोगले न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको जनाएको छ । आयोगले असोज ११ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको लागि असोज १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखिकरण प्रदान गदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?