विव्यस अध्यक्षहरु विचको अन्तरक्रिया रामपुर नगरपालिकामा सम्पन्न


पाल्पा , रामपुर नगरपालिकाले नगर भित्रका निजी तथा सामुदायिक विद्यालयका अध्यक्षहरु विच अन्तरक्रिया गरेको छ । विद्यालयमा भएका असल अभ्यासहरुको आदान प्रदानका लागी नगरपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु संग मंगलबार अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यालयको चौतर्फी विकास र संरक्षणको जिम्मेवारी व्यवस्थापन समितिको भएकाले जिम्मेवार भएर लाग्न आग्रह गर्नु भएको छ । उहाँले लगानी थोरै भए पनि विद्यालय अत्यन्तै महत्वपूर्ण क्षेत्र भएकाले समुदाय र सरोकारवाला संगको समन्वयमा शैक्षिक गुणस्तर कायम गर्दै अगाडी बढाउनु पर्ने बताउनुभयो । विद्यालय कस्तो बनाउने भन्ने कुरा समितिको व्यवस्थापन , लगनशिलता र ईमान्दारितामा भर पर्ने उल्लेख गर्नुभयो । “पछिल्लो समय गुणस्तरिय शिक्षा प्रदान गर्न अब्बल विद्यालयमा विद्यार्थी आकर्षित भएका छन् , नगर प्रमुख थापाले भन्नुभयो – तिनै विद्यार्थी आकर्षित गरेका विद्यालयको सिको गरेर शैक्षिक गुणस्तर बृद्धि गरि विद्यार्थीलाई आकर्षित गर्ने वातावरण व्यवस्थापन समितिले बनाउनु पर्छ ।” विद्यालयको शैक्षिक सुधारका लागी शिक्षकको पनि भुमिका महत्वपूर्ण हुने भन्दै उहाँले शिक्षकले विद्यालयमा समय नदिएमा , नियमित विद्यालयमा हाजिरि नभएर अटेर गरेमा त्यस्ता शिक्षकलाई काजमा सरुवा गरेर नगरपालिकाले कारवाही गर्ने समेत बताउनुभयो । यसका लागी केही विद्यालयमा छड्के रुपमा अनुसन्धान गरि रहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बालकुमारी थापाले विद्यालयको शैक्षिक सुधारका लागी व्यवस्थापन समितिको मुख्य जिम्मेवारी रहने बताउनुभयो । उहाँले आ–आफ्नो विद्यालयको सर्वाङ्गिण विकासका लागी सवै पदाधिकारी एक भएर लाग्न आग्रह गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानले एक एक विद्यालयको शैक्षिक सुधारले नै नगरको शैक्षिक अवस्थाको मापन हुने भएकाले हरेक विद्यालयको शैक्षिक गुणस्तर उच्च गुणस्तरको हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नगरपालिकाले पनि शैक्षिक सुधारका विभिन्न कार्यक्रम संचालन गर्ने बताउनुभयो ।

रामपुर नगपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा विजय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोबराज तिवारीले हरेक विद्यालयको सुधार प्राथमिक तह बाटै गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै रामपुर नगरपालिका शिक्षा शाखाका विक्रम बस्नेतले विद्यालयको सुधार र विकासका लागी व्यवस्थापन समिति मुख्य मेरुदण्ड हुने भन्दै लगनशिल भएर लाग्न अनुरोध गर्नुभयो । कार्यक्रममा नगर भित्रका विभिन्न विद्यालयका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने संचालन रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले गर्नु भएको थियो । कार्यक्रममा नगर भित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रतिनिधिहरुले शैक्षिक सुधार र विकासका लागी विद्यालयमा गरेका असल अभ्यासहरु प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?