चाडपर्व लक्ष्यित गर्दै रामपुर क्षेत्रको बजार अनुगमन, ३९ हजार बढीको अखाद्य वस्तु जफत गरी नष्ट

पाल्पा, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले रामपुर नगरपालिका भित्रका बजारको अनुगमन गरेको छ । चाडपर्वको समयमा उपभोक्ताहरु ठगिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खाद्यान्न पसलहरुको अनुगमन गरेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, रामपुर नगरपालिका, इलाका प्रशासन कार्यालय रामपुर, रामपुर उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र पत्रकारहरुको टोलीले रामपुर ५ को वेझाँड बजार , मटेरी र रामपुर ६ को विजयपुर बजारमा रहेका खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । टोलीले किराना पसल, सुपर मार्ट, सपिङ्ग सेन्टरहरुको दर्ता तथा नविकरण, म्याद गुज्रे नगुज्रेको, मुल्य सुचि राखे नराखेको, साईनबोर्ड, नापतौल सामाग्री लगाएतको अनुगमन गरेको थियो ।अनुगमन टोलीले विभिन्न पसलबाट इजाजत पन नलिई विक्रीका लागि राखिएको सुर्तिजन्य बस्तु, चुरोट, म्याद गुज्रेका पेय पदार्थ र दैनिक उपभोग्य सामान बरामद गरि नष्ट गरेको छ ।

अनुगमन टोलीले ३९ हजार ६ सय ४० रुपैयाँ बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरेको हो । चाडपर्वलाई लक्षित गरि गरिएको अनुगमनका क्रममा प्राय धेरै पसलहरुमा मुल्य सुची टाँस नगरेको, म्याद गुज्रने मिति कम भएको सामान राखिएको पाईएको उद्योग अधिकृत देविराम भण्डारीले बताउनुभयो । अनुगमनमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, ईलाका प्रशासन कार्यालय रामपुरका शाखा अधिकृत भगवान भक्त अर्याल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका सरोज खनाल, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्ल, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुको सरोकारवालाहरुको रहोबरमा रामपुर नगरपालिका कार्यालय परिसरमा नष्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?