शहीद बहुमुखी क्याम्पसमा पुस्तकालय भवन उट्घाटन

पाल्पा, शहीद बहुमुखी क्याम्पस रामपुर नगरपालिका–७ किसानबारी पाल्पामा पुस्तकालय भवन उट्घाटन भएको छ । इकि-इकि फोरम कुसानेन शिन जापान बाट प्राप्त सहयोग र क्याम्पसको संयुक्त लगानीमा निर्माण भएको भवनको सोमबार उट्घाटन गरिएको हो ।

जापानीज नागरिक नाकाजाकी कायोको र नोडा शुकोको आर्थिक सहयोगमा इकि-इकि फोरम कुशानेनशिन मार्फत काजुमासा काकिमी (ओके बाजे) को सहकार्यमा प्राप्त ४० लाख र क्याम्पसको आन्तरिक स्रोत २२ लाख गरि ६२ लाखको लागतमा पुस्तकालय तयार भएको थियो ।

भवनको उट्घाटन गर्दै इकिइकि फोरम कुशानेनशिन जापानका चियर पर्सन उनो महितोले रामपुरको बारेमा आफुले थाहा पाएको र सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले यो सानो सहयोग मात्र रहेको भन्दै आगामी दिनमा पनि क्याम्पसको लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । जापानीज समाजसेवी काजुमासा काकिमी ओके बाजेले क्याम्पसको बारेमा जापानमा जानकारी गराएको र संस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाए पछि निर्माण अघि बढेको बताउनुभयो । क्याम्पसमा आवश्यक सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै निर्माण पछि यसको उच्चतम प्रयोग र संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शिक्षाको गुणस्तर सुधारको लागि यसले महत्व पुर्ण भुमिका खेल्ने बताउँदै सहयोगको लागि धन्यवाद दिनुभयो । क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष देवराज ढकालले पुस्तकालयको उचित व्यवस्थापन सहित उच्चतम प्रयोग हुन सके मात्र भवन निर्माणले सार्थकता प्राप्त गर्ने बताउनुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले भवनको निर्माणको आर्थिक प्रतिवेदन सहित क्याम्पसको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । क्याम्पस सञ्चालक समिति अध्यक्ष नेत्र प्रसाद भट्टराईले पुस्तकालयलाई थप व्यवस्थित बनाएर अघि बढ्ने बताउनुभयो । सञ्चालक समिति अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रध्यापक धुर्व पोखरेलले गर्नु भएको हो । क्याम्पसमा यस अघि भवन अभावमा एउटा कोठामा मात्र पुस्तकालय रहेको थियो । कार्यक्रमको अवसरमा विद्यार्थी तथा जापानीज पाहुनाहरुले संस्कृतिक प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?