पाल्पाली समाज युएई द्वारा रामपुरका २ विद्यालयमा अक्षयकोष स्थापना

पाल्पा, पाल्पाली समाज युएईले जिल्लाको रामपुर नगरपालिकाका २ विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । वैदेशिक रोजगारीका लागि युएईमा रहेका पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज युएईले नवदुर्गा प्रावि रामपुर ३ बोटे गाउँ र कुम्भ प्रावि रामपुर १० गरी जिल्लाको थप दुई विद्यालयमा अक्षयकोष स्थापना गरेको हो ।

विदेशमा रहेर पनि नेपाल र नेपालीको मानव तथा भौतिक एंव सामाजिक विकासमा सहयोग गर्दै आएको समाजले पाल्पाका तत्कालीन गाविसहरुमा १ गाविस १ विद्यालय अक्षयकोष अभियान सुरुवात गरेको थियो । जस अन्तर्गत ६० गाविसका ६० विद्यालयमा अक्षयकोष स्थापना गरेको थियो । ६ वर्ष अघि तत्कालिन सिलुवा गाविसको तामाखानीमा रहेको अकला प्राथमिक विद्यालयबाट शुरु भएको अभियान अन्तर्गत ६१ औं विद्यालयका रुपमा नबदुर्गा प्राथमिक विद्यालय र ६२ औं विद्यालयको रुपमा कुम्भ प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना भएको हो ।

समाजका प्रतिनिधि सहितको सहभागितामा विद्यालयमा अक्षयकोष स्थापनार्थ रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा रकम हस्तान्तरण गर्नु भएको थियो । उहाँले हुनेले पनि ५ रुपैयाँ,सय रुपैयाँ हत्तपत्त सहयोग नगर्ने परिपार्टीमा आफ्ना लागि कमाउन गएका पाल्पालीहरुले शिक्षा र बालबालिकालाई सम्झेर सहयोग गर्नु उदाहरणीय रहेको बताउनुभयो । पाल्पाली समाज युएईको सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्नुभयो । समाजले स्वदेशमा अप्ठेरो परेको समय होस् वा अन्य समयमा बिभिन्न क्षेत्रमा गरेको स्मरण गर्दै नगरप्रमुख थापाले आगामी दिनमा पनि सहकार्यलाई जोड दिने बताउनुभयो । विद्यालयमा पुग्नुभएका नगरप्रमुख रमण बहादुर थापाले खेल्दै सिक्दै गर्ने विद्यालयमा साना बालबालिकाको लागि खेल्ने भुल्ने खेलकुद सामाग्रीको अभाव रहेकाले तत्काल ३० हजार बराबरको चिफ्लेटी, पिङ्ग सहितका खेलकुद सामाग्रीको सहयोग गर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले पाल्पाली समाज युएईले शिक्षा क्षेत्रमा काम गरेर जीवनमा ज्योति भरिदिने ज्ञान र सिप विकासमा टेवा पुर्याएको बताउनुभयो । बिदेशिनु बाध्यता रहेपनि आफ्नो गाउँ समाज र आफन्ती एवं गाउँकै विद्यालय विद्यार्थीका लागि गरेको सहयोग निकै महत्त्वपूर्ण रहने बताउनुभयो । रामपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख बिकल काफ्लेले समाजले विपन्न समुदायका विद्यालयमा गरेको सहयोग अतुलनीय रहेको उल्लेख गर्दै सरकारी र सामाजिक संघसस्थाको सहकार्यले सकारात्मक समाज परिवर्तनमा उल्लेख्य भुमिका खेल्ने बताउनुभयो ।

नबदुर्गा प्राथमिक बिद्यालय रामपुर ३ बोटेगाँउमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिका ३ का वडाअध्यक्ष दामोदर पाठकले पाल्पाली समाज युएईले मातृभुमी पाल्पालीको सुख र दुःखमा साथ दिदै आएको बताउदै ३ नम्बर वडाको सरकारी विद्यालयलाई सम्झनुभएकोमा समाजलाई धन्यवाद दिनुभयो ।

समाजका केन्द्रिय सदस्य हिरा बहादुर कुमालले युुएईमा छरिएर रहनुभएका पाल्पालीहरुको गोलबद्धताले नै यो सम्भव भएको बताउनुभयो ।विद्यालयका प्रध्यानध्यापक बिष्णु प्रसाद पाठकले विद्यालयको अबस्थाबारे जानकारी गराउदै प्रायः सिमान्तकृत समुदायका बालबालिका अध्ययनरत यस विद्यालयलाई थप फरक दृृष्टिले लिएर सहयोग गर्दा खुशी लागेको बताउनुभयो ।

पाल्पाली समाज युएईका प्रतिनिधि, जनप्रतिनिधि, विद्यालयका पुर्व अध्यक्ष, निर्वतमान पदाधिकारी, शिक्षक अभिभावक संघ, शिक्षक बिद्यार्थी सहितको सहभागीता रहेको कार्यक्रमको सञ्चालन पाल्पाली समाज युएईको पाल्पा कार्यक्रम संयोजक तथा पत्रकार सीता डोटेलले सञ्चालन गर्नुभएको हो ।

यता रामपुर नगरपालिका १० मा रहेको कुम्भ प्राथमिक बिद्यालयमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, शिक्षा शाखा प्रमुख बिकल काफ्ले, लुम्बिनी प्रदेश मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका सदस्य राम प्रसाद गैरे, पाल्पाली समाज युएईका केन्द्रिय सदस्य हिरा बहादुर कुमाल, कार्यक्रमको समन्वय गर्नुहुने पत्रकार सीता डोटेल, वडाका जनप्रतिनिधि एंव विद्यालयका व्यवस्थापन समिति एंव सरोकारवालाहरुको उपस्थितिमा अक्षयकोष स्थापना गरिएको हो ।

नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविश्वर कुमाल र प्रध्यानाध्यापक महेन्द्र प्रसाद श्रेष्ठलाई अक्षयकोषको रकम प्रदान गर्नुहुदै गरिव जेहन्दार विद्यार्थीका लागि शैक्षिक सामाग्री प्रदान गरेर अक्षयकोषलाई जिवन्त राख्न आग्रह गर्नुभयो ।
विद्यालयका प्रध्यानध्यापक महेन्द्र प्रसाद श्रेष्ठले विद्यालयको भौतिक तथा शैक्षिक अबस्था बारे जानकारी गराउनुहुदैं विद्यालयले अझ फड्को मार्न नसकेको बताउनुभयो । उहाँले प्रविधिको विकास भइरहेको अबस्थामा कम्प्युटर, शुद्ध खानेपानी र राम्रो शौचालयको अझ पनि आबश्यक रहेको जानकारी दिनुभयो । यसैबीच पाल्पाली समाज युएईले विद्यालयमा अक्षयकोष स्थापनाको अबसरमा प्रध्यानध्यापक महेन्द्र प्रसाद श्रेष्ठले समेत यही बर्ष विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

पाल्पाली समाज युएईले हालसम्म जिल्लाका ६२ विद्यालयमा १५ लाख ५० हजारको अक्षयकोष स्थापना गरेको छ । यस कोषको व्याजको रकमले प्रत्येक बर्ष विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीलाई बार्षिकउत्सव या बार्षिक कार्यक्रम गरि शैक्षिक सामाग्री प्रदान गर्ने गरि अक्षयकोष स्थापना गरेको पाल्पाली समाजका अध्यक्ष ओम कुमारी खाणले बताउनुभयो ।

२०७१ सालमा स्थापना भएको पाल्पाली समाजले २०७२ को बिनासकारी भुकम्पको बेला पाल्पा राहत कोषमा ६ लाख १ सय ११ र नेपाल सरकारको केन्द्रिय राहतकोषमा समेत रकम सहयोग गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?