अव्यवस्थित रुपमा पार्किङ्ग गरे कारबाही गर्न प्रहरीलाई नगर प्रमुख थापाकाे निर्देशन

      पाल्पा , रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले  अव्यवस्थित रुपमा पार्किङ गरेका सवारीसाधन लाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिनु भएको छ ।  बसपार्कमा पार्किङ नगरी नगरकाे मुख्य बजार बेझाँड बजार क्षेत्रमा अव्यवस्थित रुपमा पार्किङ गर्ने सवारीसाधनलाई ट्राफिक नियम अनुसार तत्काल कारबाही गर्न निर्देशन दिनु भएकाे हाे ।

नगर प्रमुख थापाले अव्यवस्थित पार्किङले बजार क्षेत्रका सडक साँघुरो हुने र सडक दुर्घटना समेत हुन सक्ने भएकाले पार्किङलाई व्यवस्थित गर्न खाेजिएकाे बताउनुभयाे ।  उहाँले नगरपालिकाले ताेकेकाे स्थानमा बाहेक अन्यत्र स्थानमा यात्रु ओराल्ने समय बाहेक अन्य समयमा  सवारी साधन पार्किङ गरे सवारी साधनलाई नियन्त्रणमा लिई कार्वाही गर्ने बताउनु भएको छ । यातायात व्यवसायी , विद्यार्थी , प्रहरी र सराेकारवाला विच भएकाे अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख थापाले यस्ताे बताउनु भएको हाे । उहाँले सबै यातायात व्यवसायी र बिद्यार्थी विच आपसी समजदारी मार्फत माग र समस्याको समाधान गर्नुपर्ने बताउनुभयो ।

नगरपालिकामा भएकाे कार्यक्रममा  सार्वजनिक सवारीसाधन प्रयाेग गर्दा विद्यार्थीले पाउने भाडा सहुलियतका बिषयमा छलफल भएकाे थियाे । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्याैपानेले सरकारले व्यवस्था गरेकाे छुट विद्यार्थीले पाउनु पर्ने बताउनुभयाे ।  कार्यक्रममा नेपाल बिद्यार्थी संघ शहिद बहुमुखी क्याम्पस रामपुरका ईकाइ सभापति ल्याकत अलिले रामपुरमा यातायात व्यवसायीले अनियमितता गरेकाे भन्दै  नेपाल सरकारले दिएकाे सुविधा अनुसार भाडा छुट पाउनु पर्ने माग गर्नुभयाे ।    नमस्ते रामपुर यातायात प्रा.लि. का संचालक भाेजराज भट्टराईले बिद्यार्थीकाे भाडा छुटका बिषयमा सुस्म अध्ययन गरि निर्णय हुने र यातायात व्यवसायीले अनियमितता गरे कारबाही गर्ने बताउनुभयो ।

छलफल पश्चात विभिन्न निर्णय समेत गरेकाे छ । बैठकले बिद्यार्थीकाे भाडा  सहुलियत सम्बन्धमा आगामी कार्तिक २१ गते बृहत छलफल गर्ने , बिद्यालय क्षेत्रका बजारमा बिद्यालय समयमा विद्यार्थीकाे भिडभाड हुने र दुर्घटना हुन सक्ने भएकाले  बिहान ९.३० बजे देखि १० बजे सम्म र साँझ ४ बजे देखि ४.३० बजे सम्म ठुला सवारीसाधन प्रवेश निषेध गर्ने , पार्किङ व्यवस्थित गर्न ताेकिएकाे स्थानमा मात्रै पार्किङ गर्ने र बस पार्कबाट टिकट काटेर गाडी छुट्ने व्यवस्था गराउने निर्णय गरेकाे छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाकाे अध्यक्षतामा भएकाे अन्तरक्रिया कार्यक्रमकाे संचालन याेजना शाखा प्रमुख  बिक्रम बस्नेतले गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?