सदावर्तमा गमिल स्मृति कप नाईन ए साईड खुल्ला फुटबल प्रतियोगिता सुरु

पाल्पा, रामपुर नगरपालिका ४ सदावर्त मिलनटोल खेल मैदानमा सोमबार देखि गमिल स्मृति कप नाईन ए साईड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । सामाजिक विकृति उन्मुलन समाज (सिज) नेपालको आयोजनामा सिज धमाका–५ अन्तर्गत प्रतियोगिता सञ्चालन भएको हो ।

नगद १ लाख राशी पुरस्कार सहितको प्रतियोगिताको सांकृतिक झाँकी सहित शुभारम्भ गरिएको थियो । स्थानीय महिला समुह, क्लवका पदाधिकारी, विद्यार्थी तथा खेलाडीहरु सहितको उपस्थितिमा उट्घाटन पूर्व पञ्चेबाजा, मारुनी, झ्याउरे सहित झाँकी बजार परिक्रमा गराईएको थियो । मिलनटोल बाट सुरु भएको झाँकी, सदावर्त संगम टोल, सदावर्त चोक, ठूलो टार, बाङ्गेपसल चोक, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय बेझाँड बजार स्कुलरोड, बेझाँड चोक, बाङ्गेपसल रोड, इस्लामपुर हुँदै कार्यक्रम स्थल पुगेको थियो ।

प्रतियोगिताको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलले युवाहरुलाई अनुशासित र सृजनशिल बनाउने बताउँदै क्लवले सञ्चालन गरेका अभियानहरुको प्रशंसा गर्नुभयो । खेल स्वास्थ्य संगै राष्ट्रलाई चिनाउने महत्वपूर्ण विधा भएको बताउँदै नगरपालिकाले आफ्नो स्रोत अनुसार लगानी गर्दै आएको र आगामी दिनमा पनि थप सहयोग गर्ने बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका महासचिव एवं क्लवका सल्लाहाकार खिम बहादुर क्षेत्री (पुरुषेत्तम)ले समाजमा रहेका विकृतिको उन्मुलन गर्दै युवाहरुलाई सामाजिक कार्यमा सक्रिय बनाउनका लागि समाज स्थापना गरिएको बताउँदै खेल संगै संस्कृतिको संरक्षणमा सक्रिय भुमिका खेलेको बताउनुभयो ।

रामपुर नगरपालिका ४ का वडा सदस्य मोहम्द तानिम शेखले समाजले वडाको पहिचानको लागि उत्कृष्ट कार्य गर्दै आएको बताउनुभयो । समाजका अध्यक्ष पूर्ण बहादुर क्षेत्री (माधव)को अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष हर्ष रानाको स्वागत र सचिव कृष्ण प्रसाद लम्सालको सञ्चालनमा भएको हो । प्रतियोगिता अन्तर्गत उट्घाटन खेल भिमाद युथ क्लव र आयोजक वि समुह विच भएको थियो ।

खेलमा भिमाद युथ क्लवले १०–० को फराकिलो गोल अन्तरले आयोजक वि लाई पराजित गरेको छ । भिमादले पहिलो हाफमा ४ र दोस्रो हाफमा ६ गोल गरेको थियो । प्रतियोगितामा १६ समुह भन्दा बढीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?