झिनियाँ उत्पादन गरी लाखौंको व्यापार गर्न सफल पाल्पाका व्यवसायी

पाल्पा, पाल्पाका व्यवसायीहरुले झिनियाँ उत्पादन गरी तिहारको अवसरमा लाखौंको व्यापार गर्न सफल भएका छन् । तिहारको परिकारको रुपमा रहेको झिनिया उत्पादन बाट जिल्लाका व्यवसायीहरुले राम्रो आम्दानी गर्न सफल भएका हुन् । पाल्पामा झिनियाँ रोटीको व्यापार पछिल्लो समय फष्टाउँदै गएको छ।

तिहार लक्ष्यित गरी झिनियाँ उत्पादन गर्दै आएका व्यवसायीहरुले स्थानीय बजार संगै देशका अन्य बजारमा पनि आफ्नो उत्पादन विक्री वितरण गर्दै आएका छन् । पाल्पाको रामपुरमा लामो समय देखि झिनियाँ उत्पादन गर्दै अाउनु भएको रुद्र नारायण श्रेष्ठले यस वर्ष ५ देखि ६ लाख सम्मको झिनियाँ विक्री भएको बताउनुभयो । विगतको वर्षहरुमा जस्तै यस वर्ष महंगीका कारण व्यापार केही कम भए पनि ५ देखि ६ लाख सम्मको झिनियाँ बजारमा पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, ” महंगीका कारण विगतमा जस्तो उत्साह जनक बजार देखिएन । पहिले व्यक्तीहरु नै घरमा लिन अाउनेको चाप हुने गर्दथ्यो । फुटकर विगतको तुलनामा कम व्यापार भए पनि यस वर्ष होलसेलमा भने राम्रै व्यापार भएको थियो ।”

श्रेष्ठले यस वर्ष ५ देखि ७ जनालाई रोजगार समेत प्रदान गर्नु भएको थियो । उत्पादन भएको झिनियाँ स्थानीय बजार संगै नवलपुरको डेढ गाउँ, बुटवल, नारायणघाट सम्म पठाएको श्रेष्ठका श्रीमती लक्ष्मी श्रेष्ठले बताउनुभयो । रामपुरकै अर्का व्यवसायी दिल नारायण श्रेष्ठले पनि यस वर्ष दुई देखि साढे दुईलाख सम्मको झिनियाँ विक्री गरेको बताउनुभयो । “यस वर्ष रामपुरमा हिउँदमा लाईन अपग्रेडका कारण समस्या भएकाले माग अनुसार उत्पादन गर्न सकिएन । जसका कारण स्थानीय बजारमा मात्र झिनियाँ विक्री गरियो । झण्डै दुई ढाई लाखको मात्र बजार पठायौैं । ” श्रेष्ठले भन्नुभयो ।

जिल्लाको विशेष गरी रामपुर, तानसेनको टक्सार, मखनटोल, भगवतिटोल, माथागढीको सराई, कसेनी, रम्भाको ताहुँ, हार्थोक लगाएतका स्थानमा झिनियाँ उत्पादन हुँदै अाएको छ । तिहारमा रोटीको परिकारलाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको छ। विविध प्रकारका रोटीको परिकार खाने पर्वका रूपमा मनाइने तिहारमा घर घरमा झिनियाँ रोटी नपाके परिकार नै अपुरो हुन गर्दछ । पाल्पाका बजारको नेवारी समुदायमा बढी चलन चल्तीमा रहेको झिनियाँ टोटी आजकल अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । राम्रो, रङ्गी विरङ्गी, पकाउन पनि सजिलो, सबैले रुचाउने भएकोले तिहारमा झिनियाँ रोटीको माग हुने गर्दछ । झिनियाँलाई विगतमा तिहारको परिकारको रुपमा मात्र लिए पनि पछिल्लो समय खाजाको रुपमा पनि लिने प्रचलन बढ्दै गएको छ ।

चामल पिसेर मसिनो पिठो बनाइन्छ, पिठोलाई राम्ररी पकाएर आकर्षणका लागि विभिन्न थरीका खाने रंगहरू मिसाएर हाते मेसिन बाट यो रोटी बनाउने गरिन्छ। जागर मिहेनत गर्न सके झिनिया रोटीबाट राम्रो आम्दानी हुने तानसेन टक्सारकी झिनिया रोटी उद्योगी विष्णुमाया श्रेष्ठले बताउनुभयो । श्रेष्ठले ३० वर्षदेखि तानसेनमा झिनियाँ रोटी बनाएर बिक्री गर्दै आएको बताउनुभयो। झिनियाँलाई विशेषत तिहारको मौलिक परिकारको रुपमा चिनिन्छ । जिल्लामा तिहारलाई लक्ष्यित गर्दै वर्षभरी झिनियाँ उत्पादन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?