पाल्पा, निस्दी गाउँपालिका-५, पिपल भञ्ज्याङ्गमा सम्पन्न खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी चापाकोट नगरपालिका ४ स्याङ्जाले जितेको छ । मंगलबार भएको फाईनल खेलमा चापाकोट नगरपालिका २ लाई २/० को सोझो सेटमा पराजित गर्दै वडा नं. ४ ले उपाधी जितेको हो ।
जुनतारा समाज निस्दी ५ गल्धा पिपल भञ्ज्याङ्गले २४ अौं वार्षिक उत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरेको थियो । फाईनल खेलमा पहिलो र दोस्रो सेट चापाकोट ४ ले २५/१८ र २५ /२१ अंक सहित हात पारेको थियो । यस संगै चापाकोट २ द्वितीय स्थानमा सिमित भएको छ । त्यस्तै तृतिय स्थान छनौटको लागि भएको खेलमा रामपुर ७ लाई २/० को सोझो सेटमा पराजित गर्दै घिरिङ १ तृतिय भएको छ ।

प्रतियोगिताको विजेताहरुले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र हात पारेको छ । विभिन्न स्थानका ११ समूह भन्दा बढीको सहभागीता रहेको प्रतियोगिता अवधीभरमा उत्कृष्ट खेलाडी चापाकोट- ४ का किसान गुरुङ, उत्कृष्ट डिफेन्डर घिरिङ्ग -१ का मिलन थापा मगर, उत्कृष्ट स्पाईकर चापाकोट-२ का सन्तोष थापा मगर र उत्कृष्ट ब्लकर चापाकोट-४ का विवश पुलामी भएका छन् ।
गेझा खेल मैदानमा भएको प्रतियोगितामा विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. १ का गठबन्धनका उम्मेद्वार ज्ञान बहादुर गाहा, अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं कांग्रेसका समानुपातिक उम्मेद्वार सन्दिप राना र गठबन्धन बाट पाल्पा क्षेत्र नं. १ प्रदेश क का उम्मेद्वार श्यामकान्त खनालले पुरस्कार वितरण गर्नु भएको थियो ।
