पाल्पा १ मा एमालेका उम्मेद्वार आचार्यको अग्रता

पाल्पा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेद्वार नारायण प्रसाद आचार्यले ३ हजार ३ सय ९८ मतले अग्रता कायम गरेको छ । निस्दी गाउँपालिकाको ७ वटै वडा बाट खसेको ९ हजार २ सय ३ मतगणना गर्दा आचार्यले ६ हजार ८१ मत प्राप्त गर्नु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञान बहादुर गाहाले २ हजार ६ सय ८३ मत प्राप्त गर्नु भएको छ । सदर मत मध्ये स्वतन्त्र उम्मेद्वार विपिन कंडेलले १ सय ६८, मंगोल नेशनल अर्गनाईजेशनका थमन बहादुर बुढा मगरले ६१, राष्ट्रिय जनमुक्ति पार्टीका उजर सिं दर्लामीले १९ र राप्रपाका ज्ञान बहादुर सिंजालीले ८, जसपाका मेहरमान रानाले ६ र स्वतन्त्र उम्मेद्वार नारायण न्यौपाने र राजु सुनारले १÷१ मत प्राप्त गरेको प्रतिनिधि सभा क्षेत्र नं. १ का सहायक निर्वाचन अधिकृत रामहरी पाण्डेयले जानकारी दिनुभयो । अर्का स्वतन्त्र उम्मेद्वार डोलराज तिमिल्सिनाले भने एक मत पनि प्राप्त गर्न सकेको छैन । निस्दीमा प्रतिनिधि सभा तर्फ कुल खसेको मत मध्ये १ सय ७५ मत बदर भएको छ ।

क्षेत्र नं. १ मा प्रदेश सभा १ अन्तर्गतका वडाहरु बाट मतगणना सुरु गरिएको थियो । क्षेत्र नं. १ प्रदेश १ मा पनि नेकपा एमालेका उम्मेद्वार राजु प्रसाद श्रेष्ठले अग्रता लिनु भएको छ । श्रेष्ठले कुल खसेको ९ हजार १ सय ९४ मत मध्ये ६ हजार १ सय ४६ मत सहित ३ हजार ३ सय ५९ मतले अग्रता लिनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्याम कान्त खनालले २ हजार ७ सय ८७ मत प्राप्त गर्नु भएको छ ।

प्रदेश सभामा प्रतिस्पर्धामा रहेका मंगोल नेशनल अर्गनाईजेशनका पूर्ण बहादुर रुचालले ९५, राप्रपाका डुल बहादुर गाहाले १९ र राष्ट्रिय जनमुक्ति पार्टीका भिमसेन सुनारी मगरले ३४ मत प्राप्त गर्नु भएको छ । प्रदेश सभा तर्फ ११३ मत बदर भएको छ । क्षेत्र नं. १ मा निस्दी गाउँपालिका भित्रको गणना सकिए संगै अहिले पूर्वखोला गाउँपालिका १ र ३ को मतगणना सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?