पाल्पा क्षेत्र नं. १ (१) मा एमालेका राजु प्रसाद श्रेष्ठ विजयी

पाल्पा, प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश १ मा नेकपा एमालेका उम्मेद्वार राजु प्रसाद श्रेष्ठ  विजयी हुनु भएको छ । श्रेष्ठले  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३ सय ९० मतले पछि पार्दै विजयी हुनु भएको हो ।

श्रेष्ठले क्षेत्र नं. १ प्रदेश १ भित्रका १९ वडा बाट खसेको ३१ हजार २ सय ११ मत मध्ये १७ हजार ६ सय ४२ मत प्राप्त गर्नु भएको छ । खनालले १२ हजार २ सय ५२ मत प्राप्त गर्नु भएको थियो । मतगणनाको सुरुवात देखि नै श्रेष्ठले अग्रता हासिल गर्नु भएको थियो । उहाँहरु संगै प्रतिस्पर्धामा रहनु भएका मंगोल नेशनल अर्गनाईजेशनका पूर्ण बहादुर रुचालले २ सय ६० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुल बहादुर गाहाले ४ सय ३१ मत र राष्ट्रिय जनमुक्ति पार्टीका भिमसेन सुनारीले ८० मत ल्याउनु भएको प्रतिनिधि सभा क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले जानकारी दिनुभयो । कुल मत मध्ये ५ सय ४६ मत बदर भएको थियो ।

पाल्पा क्षेत्र नं. १ प्रदेश १ बाट प्रदेश सभामा निर्वाचित हुनु भएका श्रेष्ठ लामो समय देखि राजनैतिक देखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनु भएको थियो । वि.सं. २०२३ मा पाल्पाको रामपुर नगरपलिका ५ बेझाडमा जन्मिएका श्रेष्ठ २०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामतुलसी माविको ईकाई सचिवको जिम्मेवारीमा रहँदै राजनितिमा प्रवेश गर्नु भएको थियो । २०३६ नेकपा एमालेको पार्टी सदस्य र विसं. २०४६ मा संगठित सदस्यता लिएर श्रेष्ठले नेकपा एमाले पाल्पाको विभिन्न पदमा रहेर समेत काम गर्नु भएको थियो । दलहरु प्रतिबन्धित रहेको समयमा रामपुर गाउँ कमिटीमा आवद्ध भएर २०४६ सालको जन आन्दोलनमा सक्रिय रहनु भएको थियो ।

२०४६ साल पछि इलाका कमिटी सचिव, क्षेत्रिय कमिटी सदस्य हुदै जिल्ला कमिटी दुई कार्यकाल सदस्य बन्नु भएको थियो । श्रेष्ठ अहिले नेकपा एमाले लुम्बिनी प्रदेशको सचिवालय सदस्य पदमा रहनु भएको छ । २०५४ सालको स्थानिय चुनावमा तत्कालीन रामपुर गाविस वडा नं. ४ को वडा अध्यक्षमा नेकपा एमाले बाट निर्वाचित भएर काम समेत गर्नुभयो । संघियता कार्यान्वयनमा आए संगै २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा श्रेष्ठले रामपुर नगर प्रमुखका लागि प्रतिस्पर्धा गर्नु भएको थियो । तर मत श्रेष्ठको पक्षमा आएन । उनै श्रेष्ठले लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?