पाल्पा क्षेत्र नं. २ (१) मा कांग्रेसका वीर बहादुर राना विजयी

 

पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री एवं कांग्रेस नेता वीर बहादुर राना पाल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित हुनु भएको छ । राना आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईलाई २ हजार ७५ मतले पछि पार्दै विजयी हुनु भएको हो ।

रानाले मतगणनाको सुरुवात देखि नै अग्रता कायम गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले सार्वजनिक गरेको मत परिणाम अनुसार रानाले १६ हजार ३९ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिद्वन्द्वी भट्टराईले १३ हजार ९ सय ६४ मत ल्याउनुभयो ।उहाँहरु संगै प्रतिस्पर्धामा रहेका मंगोल नेशनल अर्गनाईजेशनका लक्ष्मण गाहा १५९७, राप्रपाका राजु गैरेले १५२०, राष्ट्रिय जनमुक्ती पाटीका टेक बहादुर राना मगरले ३५१, जसपाका खिक बहादुर रेश्मी मगरले १६३ र नेमकिपाका माधव अधिकारीले ७७ मत प्राप्त गर्नु भएको छ ।

२०४५ देखि राजनीतिक यात्रा सुरु गर्नु भएका राना तरुणदलदेखि नेपाली काँग्रेसको क्षेत्रिय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पार्टी जिल्ला सह–सचिव हुँदै जिल्ला सभापति हुनु भएको थियो । राना नेपाली कांग्रेस पाल्पाको २०६७ सालदेखि दुई कार्यकाल पार्टी सभापतिको जिम्मेवारीमा रहनु भयो । पाल्पाको वगनासकाली–७, खानीगाउँमा जन्मिएका राना २०७० सालको संविधानसभाको दोश्रो निर्वाचनमा प्रतिनिधिसभामा तत्कालिन क्षेत्र नम्बर २ मा झिनो मतबाट उपविजेता बन्नु भएको थियो । उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट लुम्बिनी प्रदेश समानुपातिक सांसद हुनु भएको थियो ।
रानाले यस पटक प्रत्यक्ष निर्वाचन प्रणाली बाटै जित हासिल गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?