पाल्पा, एकले अर्काको अस्तित्व स्वीकार नगर्ने, प्रतिस्पर्धाका समयका कुरालाई लिएर पानीबाराबरको अवस्थामा रहने स्वभाव हाम्रो समाजमा अझै पनि देखिन्छ । अझ राजनैतिक तथा चुनावका समयमा विचार र आस्था कै कारण व्यक्ति–व्यक्ति विचको बेमेल बढी भएको पाउँछौं ।
निर्वाचनको मतपरिणाम आईरहँदा आफ्ना पक्षमा मत आउँदा हौसिएका र मत नआउँदा निरास बनेका कार्यकर्ताहरु माझ पाल्पामा उपविजेता र विजेता दुई उम्मेद्वारले उदाहरण पेश गरेका छन् । पाल्पा क्षेत्र नं. १ (१) को प्रदेश सभा निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित हुनु भएका राजु प्रसाद श्रेष्ठलाई प्रतिस्पर्धी श्यामकान्त खनालले भेटेरै बधाई दिई रहँदाको दृश्यले धेरैको ध्यान खिचेको थियो ।

गयराती मत परिणामको अन्तिम नतिजा आए संगै बिहिबार एमालेका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको सहभागीतामा विजयी उत्सव सहित ¥यालीको तयारी भैरहेका बेला खनालले रामपुर नगरपालिका परिसर मै पुगेर बधाई दिनु भएको थियो । खनालले खादा ओढाएर बधाई सहित सफल कार्यकालको शुभकामना ज्ञापन गर्नु भएको हो । दुवै जनाले एक आपसमा अंकमाल गरेर आत्मियता साटासाट गर्नु भएको थियो । साथै श्रेष्ठले पनि खनाललाई टिका र माला पहिराउनु भएको थियो ।
निर्वाचनमा श्रेष्ठ संगको प्रतिस्पर्धामा उपविजेता बन्नु भएका कांग्रेसका उम्मेद्वार खनाल फोन गरेरै श्रेष्ठलाई बधाई दिन पुग्नु भएको थियो । बधाई दिदै खनालले भन्नुभयो, ‘५ वर्ष कार्यकालमा जनतालाई खुशी बनाउनु होला । सबैलाई समेटेर अघि बढ्नु होला । त्यही नै तपाईको जित हुनेछ ।’ संवादको क्रममा खनालले थप्नुभयो, ‘यो जित सबै मतदाताको जित हो । यस क्षेत्रका मतदाता हामी दुवैको हो । उहाँहरुले दुवै जनालाई एकै पटक जिताउन नमिलेर मात्र हो ।’ खनालले यस क्षेत्रको विकासको लागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।
तस्वीरहरु: पृथ्वी टेलिभिजनको फेसबुक भिडियो र सामाजिक सञ्जालहरु बाट ।
