पाल्पाका नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई प्रमाण पत्र प्रदान

पाल्पा, आइबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भए संगै पाल्पाका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । शुक्रबार दिउँसो जिल्लाको दुई वटै निर्वाचन क्षेत्रको मतगणना सकिए संगै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको हो ।

क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित नारायण प्रसाद आचार्य, क्षेत्र नं. १ (१) मा प्रदेश सभा सदस्यमा निर्वाचित राजु प्रसाद श्रेष्ठ र १(२) मा निर्वाचित प्रदेश सभा सदस्य खेम बहादुर सारुलाई क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित ठाकुर प्रसाद गैरे, क्षेत्र नं. २ (१) मा प्रदेश सभा सदस्यमा निर्वाचित वीर बहादुर राना र १(२) मा निर्वाचित प्रदेश सभा सदस्य तुलाराम घर्तीलाई मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले प्रमाण पत्र प्रदान गर्नु भएको हो ।

रामपुरमा भएको प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले राज्यले प्रदान गरेको जिम्मेवारी पुरा गर्नको लागि आए पनि निष्पक्ष र धाँढली रहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग प्राप्त भएको बताउनुभयो । मुलुकको नीति निर्माणका लागि निर्वाचित भएका जनप्रतिनिधिहरुलाई शुभकामना दिदै सबैको प्रयास बाट निर्वाचन सहज रुपमा सम्पन्न भएको बताउनुभयो । क्षेत्र नं. १ का निर्वाचित प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले जनताको भावना अनुसार अघि बढ्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन सहायक निर्वाचन अधिकृत रामहरी पाण्डेयले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?