वालिङ, प्रतिनिधि सभा सदस्य स्याङ्जा क्षेत्र नं २ मा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ विजयी हुनुभएको छ । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार कांग्रेस उपभापति गुरुङ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार पद्माकुमारी अर्याललाई ५ हजार ६ सय २७ मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा नेकपा एमालेका सचिव अर्यालले २५ हजार ८ सय ३९ मत ल्याउनुभएको छ । समानुपातिकबाट संविधान सभा सदस्य बन्नु भएका गुरुङले पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्नु भएको थियो । उपसभापति पदमा निर्वाचित भएपछि उहाँलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो ।
अर्यालको भने यससहित तेस्रो प्रतिस्पर्धा हो ।स्याङ्जा–२ मा मतदान भएको १० दिनपछि मतगणना भएको थियो । यसअघि २०७४ मा अर्यालले तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै विजयी हुनु भएको थियो । उहाँहरु संगै प्रतिस्पर्धामा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार १ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले ८ सय ८४, मंगोलनेश्नल अर्गनाईजेशनका चोक बहादुर गुरुङले ६ सय ५४, राष्ट्रिय जनमुक्तिी पार्टीका रिमीसरा गाहा रानाले ३ सय ३५, एकिकृत शक्ति नेपालका नर बहादुर खड्काथोकीले १ सय ५४, स्वतन्त्र उम्मेद्वार सागर ढकालले १ सय २९, नेपाली कांग्रेस विपीका गणेश प्रसाद पाण्डेले २६, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) का डोलराज विकले २०, स्वतन्त्र उम्मेद्वार ढाल प्रसाद पाण्डेले १९ र चिरन्जीवी पाण्डेले १८ मत प्राप्त गरेका छन् ।