पाल्पा, रामपुर नर्सरी एण्ड एग्रो फार्म रामपुर पाल्पाको सोमबार रामपुर नगरपालिकाले अनुगमन गरेको छ ।
यस क्षेत्र मै एक मात्र फूल व्यवसाय गर्दै आएको फार्ममा नगरपालिकाको अनुदानमा ल्याईएको चिल्लर फ्रिजको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पुष्प व्यवसायको माध्यमबाट समग्र नगरको पहिचान थपिएको बतनउनुभयो । उहाँले फुल खेतीबाट व्यवसायीक रुपमा संचालक सफल भई नगरलाई नै चिनाउने माध्यम बनेको बताउनुभयो । फूलमालाको व्यवसायीकता बढे संगै लामो समय सम्म फूल सुरक्षित राख्नका लागि नगरपालिकाले फ्रिज अनुदान दिएको उहाँले बताउनुभयो । नगर प्रमुख थापाले आगामी दिनमा बजारको माग अनुसारको उत्पादन गर्न आग्रह गर्दै व्यवसाय प्रर्बद्धनका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

नगरपालिकाले फार्मलाई चिल्लर फ्रिज खरिदका लागि २ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो । नगरपालिकाको २ लाख र फार्मको ५६ हजार ९ सय लागतमा चिल्लर फ्रिज खरिद गरिएको सञ्चालक दिल बहादुर थापाले बताउनुभयो । “फ्रिज ल्याए पछि टिपेर राखेको फूल ओईलिन्छ कि भन्ने चिन्ता हटेको छ” -संचालक थापाले भन्नुभयो ।
फार्मको जिल्ला समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल , नगर उपप्रमुख बाल कुमारी थापा , प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने , रामपुर ४ का वडा अध्यक्ष राम बहादुर राना लगायतले अवलोकन गर्नु भएको थियो ।