प्रदेश सांसद श्रेष्ठलाई रामपुर नगरपालिकाद्वारा स्वागत तथा सम्मान

पाल्पा , रामपुर नगरपालिकाले नवनिर्वाचित प्रदेश सांसदलाई स्वागत तथा सम्मान गरेको छ । नगर कार्यपालिकाको बैठकको अवसरमा सोमबार पाल्पा क्षेत्र नं. १ प्रदेश सभा १ मा नवनिर्वाचित प्रदेश सांसद राजु प्रसाद श्रेष्ठलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रदेश सांसद श्रेष्ठले यस क्षेत्रको विकासको पहिलो दायित्व आफुले लिने बताउनु भएको छ । उहाँले निर्वाचनका बेला कुनै राजनीतिक दलको प्रतिनिधि भए पनि अब सबैको प्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रामपुरको मात्र नभई समग्र विकासका लागि तिनै तहको समन्वय बिना विकास सम्भव नहुने बताउनुभयो ।

सांसद श्रेष्ठलाई सम्मान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुरको विकास र समृद्धिको लागि निर्वाचनमा भएका मतमतान्तरलाई थाती राखेर एक भएर लाग्नु पर्ने बताउनु भएको छ । विगतमा प्रदेश र संघबाट विनियोजन हुने बजेटमा तालमेल हुन नसकेको भन्दै उहाँले हरेक ठाँउको विकासको लागी आवश्यकता र स्थानिय तह संगको समन्वयमा योजना तय तथा बजेट विनियोजन गर्नु पर्ने बताउनुभयो । “कुनै बिचार र आस्थाको आधारमा बजेट विनियोजन गर्नु राम्रो होईन , नगर प्रमुख थापाले भन्नुभयो– चुनावमा मत पायौं अब मन जितेर काम गर्नु पछ ।” उहाँले नगरपालिकालाई उदाहरणीय बनाउन स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकार बिच सहकार्य गरेर जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरको बिकासका लागि समन्वय र सहकार्य गरेर जानुपर्ने भन्दै नवनिर्वाचित प्रदेश सांसदलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गर्नु भएको थियो । नगरपालिकाको सभाहलमा भएको कार्यपालिका बैठकले नगर प्रहरी सम्बन्धि कार्यविधि पारित गरेको छ । यस्तै नगर भित्र संचालित क्लिनिक तथा निजी स्वास्थ्य संस्था दर्ता तथा नविकरण कार्यविधि माथि छलफल र कार्यान्वयनमा कडाइ गर्ने , बजार अनुगमनलाई कडाइका साथ निरन्तरता दिने लगायतका निर्णय गरेको नगर प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?